अदालतबाट थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै पीडितहरु

0
35

बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि मौन प्रदर्शन गरेर धर्ना दिइएको छ।

अदालतबाट थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै पीडितका तर्फबाट बिहीबार धर्ना दिइएको हो। धर्नामा सहभागीले हात–हातमा पीडितका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए। धर्नामा महिला, गैरसरकारी संस्थाकर्मी तथा मानवअधिकारकर्मीहरु सहभागी छन्। दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबामाथि सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि मुद्दा उच्च अदालत विराटनगरमा पुगेको छ। उच्चमा यही मुद्दाको पेसी बिहीबारका लागि तोकिएको थियो। मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यसअघि नै लगाउमा राखिसकेको छ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो। निवेदनमा बेरितको आदेश बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ।

उक्त निवेदन पुस १७ गते दर्ता गरेको उच्च अदालतले सबै व्यहोरा र विवरण खुलाएर १५ दिनभित्रमा सुरु मिसिल साथै राखी कैफियत प्रतिवेदन गर्न जिल्ला अदालतलाई १८ गते आदेश दिएको थियो। उच्चको आदेशअनुसार जिल्लाले कैफियत प्रतिवेदन पठाइसकेको छ।

यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन्। एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएका थिए।

‘मुद्दा एउटा र पक्ष विपक्ष दुईवटा भएकाले अन्तरसम्बन्धित मुद्दामा भिन्दा-भिन्दै सुनुवाई हुँदैन,’ अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले भने, ‘सँगै राखेर सुनुवाई गर्नु पर्ने भएकाले नै मुद्दा लगाउमा राखिएको हो।’ मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएका कारण यो मुद्दाको पेसी पनि बिहीबारका लागि चढेको थियो। तर सुनुवाई हुने या नहुने भन्ने यकिन भने भइनसकेको थपलियाको भनाइ छ। सुनुवाई हुने या नहुने टुँगो लाग्न नसकेकै बेला पीडित महिलाका पक्षमा अदालत अगाडि मौन प्रदर्शन र धर्ना दिने काम भएको हो।

उच्चबाट मुद्दाको सुनवाई भएपछि सुनसरी अदालतको आदेश नै रितपूर्वक भएको मान्ने कि बेरितको भन्दै अर्को अन्तिम आदेश गर्ने टुँगो लाग्न छ।

बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए। उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा भने प्रहरी हिरासत बस्न परेन। उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए। अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि भर्ना गरियो।

प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो। उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार गरेका थिए। अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममा पुगेका थिए।स्रोत अन्नपुर्णपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here