अस्पताल जानु भन्दा मृत्युसँग आत्मसमर्पण गर्नु सजिलो ।

0
70

यो कथा हो एउटा साधारण दम्पतीको । तर, उनीहरुको कथा असाधारण छ ।
रामेछाप दोरम्बादेखि आएका उनीहरु यतिबेला भक्तपुरस्थित एक साँघुरो कोठामा दिन कटाइरहेका छन् । तीन महिनादेखि काठमाडौंमा भौतारिरहेका उनीहरुको मुहारमा घनघोर निराशा छाएको छ । आँखा पानी पर्न लागेको बादल जस्तै झरिलो ।
दिउँसो १२ बजेतिर सुर्यविनायक पुग्दा उनीहरु दुई कुनामा दुईतिर घोप्टिएका थिए । २ छोराछोरी त्यहीँ खेलिरहेका । आमाबाबु चुपचाप टोलाइरहेका ।

‘खै के पो सुनाउनु र ? यो राम कहानी सुन्न थाल्नुभयो भने कहिल्यै सकिँदैन’, मौनता चिर्दै बोलिन् । तर उनी सहज रुपमा प्रस्तुत हुन सकिनन् ।

उनी अर्थात धनमाया मोक्तान ।

उमेर : ३७ वर्ष

घर : रामेछाप दोरम्बा ।

धनमाया घोसेमुण्टो लगाएर भुईं कोट्याइरहिन् । उनका श्रीमान प्रविन बोल्छन्, ‘हामी त अलमलमा छौं । नसोचेको दुःख आइलाग्यो जिन्दगीमा । खै के पो हुने हो ।’

प्रविन बोल्न थालेपछि धनमायालाई केही सहज भयो । उनी प्रविनको कुरामा सहमति जनाउन बेलाबेला मुन्टो हल्लाउँछिन् । कहिले बीचबीचमा फ्याट्ट बोलिहाल्छिन् ।

‘अस्पतालमा हण्डर खाएपछि महसुस गरेँ कि हामीले जनयुद्ध गरेर अलिकति पनि परिवर्तन गर्न सकेका रहेनछौं’, निराश हुँदै धनमाया बोल्छिन्, ‘अस्पताल जानु भन्दा मृत्युसँग आत्मसमर्पण गर्नु सजिलो हुने रहेछ ।’

धनमाया गुनासो यतिकैमा सकिन्न, उनी निरन्तर निराशा पोख्छिन्, ‘बाँच्ने आशा लिएर अस्पताल पुग्दा ‘बाँच्नु छ भने निजी अस्पताल जानू, यहाँ त ६ महिनापछि पालो आउँछ’ भनिन्छ । यस्तो बेला कस्तो महसुस होला ?’

उनी बोल्दा बोल्दै मौन हुन्छिन् । अनि केही क्षणपछि सुस्केरा हाल्दै सुनाउँछिन् ‘मलाई अहिले मेरो विगतप्रति गर्व लाग्दैन, भविश्य सम्झँदा अत्यास मात्र लाग्छ ।’

भक्तपुर सूर्यविनायकस्थित एउटा कोठामा बसेर कुरा गरिरहेकी धनमायाको आवाजमा निराशा मिसिएको छ । टोलाएर बस्नु दैनिकी बनेको छ । आफूलाई क्यान्सर भएको थाहा पाएदेखि अवस्था यस्तै छ । श्रीमान प्रविनको अवस्था उस्तै । तीन महिनादेखि अस्पताल धाउँदाधाउँदै दुबै जना गलिसकेका छन् । आत्मविश्वास गुमाइसकेका छन् ।

प्रविन माओवादी पूर्व लडाकु हुन् । श्रीमती धनमाया पनि माओवादी कार्यकर्ता । उनीहरुका परिवारका अन्य सदस्य पनि तत्कालीन माओवादीसँगै जोडिएका थिए । ५५/५६ सालदेखि नै राजनीतिमा जोडिएका उनीहरुको युद्धका कथाहरु कोट्याउने हो भने गह्रुंगो किताब बन्न सक्छ । तर यो अब बितेका पल भइसके । तिनै पलहरु सम्झिँदै धनमाया पछुताइरहेकी छिन् ।

‘बितेका पलहरुले वर्तमानमा नमज्जाको चोट दिँदोरहेछ’ धनमाया भन्छिन्, ‘व्यर्थै जनयुद्ध लडिएछ । जनतालाई महसुस हुने गरी केही परिवर्तन गर्न सकिएनछ ।’

००००

प्रविनसँग अनेक कथा छन् । धनमायासँग व्यथा । कथा, व्यथा र अनुभवबाहेक अन्य उपलब्धी शून्य ।

दोरम्बा गाउँपालिकाको वडा सदस्य हुनुबाहेक राजनीतिले चिनाएको अर्को परिचय छैन् धनमायाको । यसलाई उपलब्धी भन्दा पनि पार्टीले दिएको जिम्मेवारी मान्छिन् ।

जिम्मेवारी र उपलब्धी जिन्दगीका दोस्रो पाटा भए ।

धनमाया यतिबेला आफ्नो रोगबारे सुनाइरहेकी छिन् । प्रविन श्रीमतीलाई क्यान्सर लागेपछिका पट्यार लाग्दा दिनहरु सम्झँदैछन् ।
यो तीन महिना उनीहरुका लागि कहालीलाग्दो सावित भयो । पीडा त झन् कत्ति हो कति ! अस्पताल नपुगेको भए यो हदसम्मको सास्ती पाइन्छ भन्ने थाहा नपाउन सक्थे । अनि जनयुद्धले परिवर्तन गरेको छ भन्ने ‘भ्रम’बाट मुक्ति मिल्दैनथ्यो सायद ।

तीन महिनाअघि

धनमायालाई काम गर्दा पहिला भन्दा कमजोर भएको महसुस हुन थालेको थियो । ‘खानपान नमिलेर होला’ भनेर ध्यान दिइनन् । ग्याष्ट्रिकबाट पीडित उनलाई अल्सर भएको भने संकेत थियो । तर क्यान्सरबारे त सोच आएकै थिएन ।

उनकी आमा प्यारालाइसिसले ग्रस्त थिइन् । जेठानी दिदी सात महिनाअघि क्यान्सरकै कारण बितेकी । सोही कारण बेलैमा स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने सोच आयो । उनी श्रीमानसँग काठमाडौं आइन् । अस्पताल पुगेर जाँच गर्दा अल्सरबाट पायल्स भइसकेछ । अपरेशनपछि डाक्टरले भने, ‘यस्तो भइसक्दा पनि स्वास्थ्य जाँच नगर्ने ? बेलैमा अस्पताल आएको भए पायल्स नै हुन्नथ्यो ।’

डाक्टरले केही औषधि लेखेर क्यान्सर अस्पताल ‘रिफर’ गरे । धनमाया छक्क पर्दैै सोधिन्, ‘अपरेशन त सकिइसक्यो । अब फेरि क्यान्सर अस्पताल किन ?’

डाक्टरले जवाफ दिए, ‘पायल्स पुरानो भइसकेछ । एकपटक टेस्ट गरौं, क्यान्सर पो भइसक्यो कि ?’

धनमाया र प्रविन क्यान्सर अस्पताल पुगेँ । त्यहाबाट सुरु भयो टाउको दुखाई । हरेक पाइलामा दिक्कदारी । अस्पतालको भद्रगोल व्यवस्थापनले दुखेको टाउको झन दुखायो । मान्छेको भीडले अस्पताल माछा बजार जस्तो । सामान्य कुरा सोध्न–बुझ्न अस्पताल चक्कर लाउँदा पनि नसकिने ।

रिपोर्ट हेरेपछि डाक्टरले भने, ‘क्यान्सर सेकेण्ड स्टेजमा पुगेछ ।’

धनमायालाई भाउन्न छुट्यो । आफूले टेकेको धर्ती फनफनी घुमेजस्तो भयो । प्यारालाइसिस भएको आमालाई सम्झिइन् । क्यान्सरका कारण बितेकी जेठानी दिदीको याद आयो । अनि आफ्ना नाबालक सन्तान सम्झिएर भक्कानिँदै रुन थालिन् ।

‘यस्तै लेख्या रहेछ खप्परमा । श्रीमान जवान छन्, पाल्लान् नि छोराछोरी’ भनेर मन बुझाए ।

डाक्टरले पनि सान्त्वना दिए, ‘क्यान्सर भन्दैमा डराउनुपर्दैन, बेलैमा उपचार पाए ठीक हुन्छ ।’

डाक्टरको काउन्सिलिङपछि ‘क्यान्सर लागेको मान्छे बाँच्दैन’ भने भ्रमबाट मुक्त भइन् । तर, मन के मान्थ्यो ? वनको बाघले खाओस् नखाओस् मनको बाघले खाइरह्यो । रोगको चिन्ता एकातिर, उपचार खर्च जोहो गर्ने चिन्ता अर्कोतिर ।

डाक्टरले भने, ‘बेलैमा केमोथेरापी र रेडियो थेरापी गरिहाल्नु पर्छ । ढिलो गरे क्यान्सर झनै फैलिन्छ ।’

केमोथेरापी गर्न कहाँ सजिलो हुन्थ्यो र !

अस्पतालले भन्यो, यहाँ केमोथेरापी र रेडियो थेरापी गराउनेहरुको लामो लाइन छ । ६ महिनासम्म पालो आउन्न ।’
डाक्टरले तत्काल गर्नुपर्ने भनेको केमोथेरापी ६ महिनासम्म कसरी कुर्ने ? अब के उपाय हुनसक्छ ? अस्पतालले नै सुझायो, ‘काठमाडौं क्यान्सर अस्पताल जाने ।’

विकल्प अरु थिएन, उनीहरु काठमाडौं क्यान्सर अस्पताल गए । १५ दिन निरन्तर केमोथेरापी दिएपछि धनमाया अहिले भक्तपुरको कोठामा आराम गरिरहेकी छिन् । डाक्टरले चाँडै अपरेशन गर्नुपर्ने बताएका छन् तर मिति तय भएको छैन ।

थेरापी गर्दा पाँच लाख ऋण लागिसकेको छ । अब अपरेशन गर्ने रकम कहाँबाट जुटाउने भन्ने चिन्ता छ । सरसापट र इष्टमित्रको सहयोगले अपरेशन खर्च धान्लाजस्तो लाग्दैन । धनमाया चिन्तित भावमा बोल्छिन्, ‘बिरामी भएपछि जोगी भइनेरहेछ । हामी गरीबलाई उपचार गर्नुभन्दा मर्न सजिलो ।’

उनले यसो भन्दै गर्दा ननिकै खेलिरहेका छोराछोरी उनलाई ट्वाल्ल परेर हेर्छन् । अनि सानो छोरो उनको काखमा आएर भन्छ, ‘म पनि ममीको काखमा बस्ने ।’

उनी छोराको गाला मुसार्छिन् । अनि श्रीमानतिर हेर्दै छोरालाई काखमा राख्न संकेत गर्छिन् । किनकी धनमाया छोरालाई काखमा राख्न नसक्ने गरी कमजोर भइसकेकी छिन् । त्यसलाई बुझेका प्रविनले छोरा लिँदै भने, ‘हाम्रो अवस्था यिनीहरुलाई थाहा छैन ।’

००००

‘गरीबहरुलाई उपचार भन्दा मर्न सजिलो’ धनमायाको अन्तर्मनबाट निस्किएको आवाज हो । भक्तपुर क्यान्सर अस्पताल चहार्दा भोगेको दुःखको निचोड पनि । निकै कम मात्र बोल्ने उनको यही एक लाइन उनको जीवन भोगाईको सार पनि ।

लामो सुस्केरा हाल्दै उनी बोल्छिन्, ‘अस्पतालकै कारण कति धेरै मर्नु नपर्ने मान्छेहरु मरिरहेका छन् होलान्।। ।’

तीन महिने काठमाडौं बसाइमा उनीहरुले धेरै हण्डर खाए । अस्पताल धाउँदा अनौठो विभेद भोगे । सरकारी अस्पतालमा चालिस हजारमा पाउने सेवाको लागि ऋण गरेरै निजी अस्पतालमा २ लाखसम्म तिरे । यस्तै अनुभवले मन कुँडिएको बताउँछिन् धनमाया । ‘सरकारी अस्पतालमा भेटिएका तिनै डाक्टरहरु निजीमा पनि भेटेँ, त्यतिबेला साह्रै नमज्जा लाग्यो’ धनमाया भन्छिन्, ‘उहाँहरुको आफ्नै बाध्यता होला तर हाम्रो त झन ठुलो बाध्यता छ ।’

००००

३७ वर्षे जिन्दगीलाई फर्केर हेर्ने हो भने धनमायाले फरकरफरक जीवन बिताएकी छिन् । निम्न वर्गीय परिवारमा जन्मिएकी उनको जीवनको एक समय भक्तपुरमै ज्याला मजदुरी गरेर बित्थ्यो । भक्तपुरबाट माओवादीमा लागेकी उनले त्यस यता उनी फरक फरक भूमिकामा संघर्ष गरिरहेकी छिन् ।

कहिले आमा त कहिले श्रीमती । कहिले बुहारी त कहिले जनप्रतिनिधि । अहिले उनलाई लाग्छ, मेरो आयु नै छोटो रहेछ ।
भन्छिन्, ‘क्यान्सरको अपरेशन गरेको ज्यान बाँच्यो भने पनि के गरिखान सकुँला र ?’

उसो यसो भनिरहँदा श्रीमान मौन छन् । कोठामा केही बेर सन्नाटा छाउँछ । अनि धनमायाको सानो छोरा सन्नाटा तोड्दै फेरि बोल्छ, ‘म ममीकै काखमा बस्ने ।’

उनीहरु एक अर्कालाई मुखामुख गर्छन् । छोरालाई आफूतिर तान्दै धनमाया बोल्छिन्, ‘उपचार खर्चको अभावले धेरै मरिरहेका होलान् । मेरो नियती नि त्यस्तै होला जस्तो छ ।’

प्रविनको गहभरी आशु छचल्किन्छ । तर ‘जहाँबाट पैसा ल्याएर भए पनि म उपचार गराउँछु, म छु नि’ जस्ता सान्त्वनाको शब्दहरु भन्ने हिम्मत उनलाई आउँदैन ।समाचार अन्लाईनखबर बाट जस्ताको तस्तै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here