मंगसिर १३ काठमाण्डौ | काठमाडौं उपत्यकामा बिहीबार(आज)देखि सार्वजनिक सवारीसाधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू भएको छ।
नम्बर प्लेटको अन्तिम अंकका आधारमा लागू गरिएको नियमबमोजिम आज बिजोर अंक हुने गाडी मात्र सञ्चालन गर्न पाइनेछ। जसकारण आज काठमाडौंका सडकमा कम गाडी चलेका छन्।
शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनमा आउने विदेशी अतिथिहरुकाे सुरक्षा र सुविधाका लागि सरकारले यातायातमा जाेर-बिजाेर प्रणाली लागू गरेकाे हाे। अब आइतबारसम्म सवारीसाधन सञ्चालनमा यही नियम लागू हुने काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।
बिहीबार र शनिबार बिजोर तथा शुक्रबार र आइतबार जोर अंक (नम्बर प्लेटको अन्तिम अंक) भएका गाडी चलाउन पाइने महाशाखाले जानकारी दिएको छ।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका गाडीलाई भने याे नियम अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
एसिया प्यासिफिक समिटमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर (परराष्ट्रमन्त्री) आङ साङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन लगायतका विदेशी पाहुना काठमाडौं आउँदैछन्।
तर, सर्वसाधारणले भने जोर-बिजोर प्रणालीले यात्रामा सास्ती पाइएको भन्दै असन्तुष्टी जनाएका छन्। स्रोत नेपालखबर |