इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने वडा सदस्यलाई तत्काल कार्वाही गर्न माग गर्दै नेपाल इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश

0
67

इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने वडा सदस्यलाई गिरफ्तार गरी तत्काल कार्वाही गर्न माग गर्दै नेपाल इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएको छ । समिति सभापति नन्दलाल बन्जाडेको नेतृत्वमा गएको इन्जिनियरहरुको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटी ज्ञापन पत्र बुझाएको हो ।
झोलुङ्गे पूल उपभोक्ता समिति सँग गरिएको सम्झौता सँग सम्बन्धित बिषयलाई लिएर अछाम जिल्ला समन्वय समिति सदस्य बेदप्रकाश तिमिल्सिनाले अछामको पुर्वाधार विकास कार्यालय सांफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई काट्ने, मार्ने धम्की लगायत अश्लील शब्दले गाली गरेका थिए । उनले आफुले भने बमोजिम नभएपछि इन्जिनियरलाई तथानाम गालीगलौज गरेको अडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

गृहमन्त्री समक्ष सभापति बन्जाडेले इन्जिनियरहरु माथि यस प्रकारको घटना श्रृखंलाबद्ध रुपमा भईरहेको र यसअघि पनि सिन्धुली तथा सिन्धुपाल्चोकमा समेत इन्जिनियर कुटिएको बिषय दर्शाउनुभयो ।

एनईए प्रदेश ३ को ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले सिन्धुली र सिन्धुपाल्चोकको घटनाका बिषयमा आफूलाई जानकारी नभएको र अछाममा इन्जिनियर माथि ज्यान मार्ने धम्की आएको बिषयमा आफूले निर्देशन समेत दिईसकेको जानकारी गराउनु भयो ।

‘अछाममा इन्जिनियरलाई जनप्रतिनिधीले ज्यान मार्ने धम्की दिएको बिषय त्यहाँ सांसदले पनि अवगत गराउनुभएको थियो । मैले आवश्यक निर्देशन दिईसकेको छु । थप अनुसन्धान गर्ने काम हुन्छ । सरकार नागरिकको जीउधनको सुुरक्षाका लागि सदा संवेदनशील र प्रतिबद्ध छ’ उहाँले भन्नुभयो ।

ज्ञापन पत्र बाचन गर्दै सभापति बन्जाडेले भने इन्जिनियरको ज्यान लिने धम्की दिएका वेद प्रकाश तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी कानुनी कार्वाही नगरे इन्जिनियर लगायत प्राविधिक कर्मचारीहरुको सुरक्षाका लागि एशोसिएसन गम्भीर कदम चाल्न बाध्य हुने जानकारी गराउनुभयो ।

ज्ञापनपत्रमा सभापति नन्दलाल बन्जाडे र सचिव प्रदिप अधिकारीले हस्ताक्षर गर्नुभएको छ । ‘सामाजिक सञ्जालमा भाइरल भएको अडियो तथा प्राप्त सूचना बमोजिम अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १ का कथित वडा सदस्य बेद प्रकाश तिमिल्सिनाले सोही जिल्ला स्थित सुदुरपश्चिम प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुख इ. जंग बहादुर थापा सदस्यता नं. १३३५२ लाई झोलुङ्गे पूल उपभोक्ता समिति सँग गरिएको सम्झौता सँग सम्बन्धित बिषयमा ज्यान मार्ने धम्की दिएको बारेमा यस एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फिल्डको काममा खटिएका प्राविधिक कर्मचारीहरुलाई कुटपिट, धम्की र अभद्र व्यवहार यस अघि पनि सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा भएको र यस एशोसिएसनले घटनाको तत्काल नै सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराइएको सन्दर्भमा पटक पटक यस्ता घटना दोहोरिएको हुँदा हामी नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं ।

लोकतान्त्रिक शासन व्यवस्थामा समेत यस प्रकारको असभ्य, जघन्य र अक्षम्य अपराध प्रति राज्य निरीह देखिनु किमार्थ शोभनिय हुँदैन । त्यसैले नेपाल सरकारले नीज वेद प्रकाश तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी कानुनी कार्वाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । अन्यथा इन्जिनियर लगायतका प्राविधिक कर्मचारीहरुको सुरक्षाका सम्बन्धमा यस एशोसिएसन गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा समेत यसै ज्ञापन पत्र मार्फत जानकारी गर्दछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here