कांग्रेसमा बद्री पाण्डेदेखि प्रदीप पौडेल, जस्ता चर्चित युवाले टिकट पाएनन्

0
1378

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनतर्फको समानुपातिक सूची निर्वाचन आयोगलाई बुझाइसकेको छ । कांग्रेसले बुझाएको प्रतिनिधिसभातर्फको ११० र प्रदेशसभातर्फको ३३० सूचीमा धेरै नाम चलेका युवाहरूको नाम समावेश छैन ।

प्रतिनिधिसभाको बन्दसूचीमा अधिकांश विगतमा सांसद भइसकेको, पार्टीमा त्यति नाम नसुनिएका, उद्योगी व्यवसायी धेरै परेका छन् । पार्टीका भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा बसेका अधिकांश युवा नेता टिकट पाउनबाट वञ्चित भएका छन् । अर्थात् उनीहरूलाई प्रदेश र प्रतिनिधिसभातर्फ न प्रत्यक्षमै टिकट दिइयो न त समानुपातिक उम्मेदवार नै बनाइयो ।

केन्द्रीय सदस्यहरू गुरुराज घिमिरे, प्रदीप पौडेल, गोविन्दराज भट्टराई, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, नेविसंघका अध्यक्ष नैनसिंह महर, पूर्वअध्यक्ष रञ्जित कर्ण, महेन्द्र शर्मा, केशव सिंहजस्ता चर्चित युवा नेताहरू निर्वाचनमा टिकट पाउनबाट वञ्चित रहे । यस्तै, क्षितिज भण्डारी, दामोदर कोइराला, लक्ष्मी खतिवडा, खिमान रायमाझी, नृप सुनार, केशव मिश्र, टेकराज पौडेल, प्रकाश राना, कुन्दन काफ्ले, निलकण्ठ रिजाल, प्रमिला थपलियालगायतलाई पनि टिकट दिइएन ।

बद्री पाण्डे र रञ्जित कर्ण त पूर्वसांसद नै हुन् । पाण्डेलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको थियो । धेरैले उनलाई बाजुराबाट पार्टीले प्रतिनिधिसभाको उम्मेदवार बनाउने विश्वास गरेका थिए ।

यस्तै, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण समानुपातिक सांसद थिए । उनले सप्तरीबाट प्रतिनिधिसभा या प्रदेशसभातर्फ टिकटको दाबी गर्दै आए पनि कांग्रेसले उनलाई दिएन ।

पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश नम्बर १ तथा प्रदीप पौडेल र गोविन्द भट्टराईलाई कांग्रेसबाट प्रदेश नम्बर ४ को मुख्यमन्त्रीका रूपमा प्रचार गरिएको थियो । घिमिरेले पार्टीले टिकट दिए प्रदेशसभामा उठ्ने बताएका थिए । पौडेल र भट्टराईले भने तनहुँ २ बाट प्रतिनिधिसभामा दाबी गर्दै आएका छन् । तर, बुधबार बिहानसम्म तनहुँ २ मा उम्मेदवारको टुंगो लागेको छैन । सो क्षेत्रबाट शंकर भण्डारीले पाउने प्रबल सम्भावना रहेको बताइन्छ ।

नेविसंघ, तरुण दल, महिला संघको नेतृत्वमा बसेर काम गरेका धेरै युवालाई पार्टीले टिकट नदिएको भन्दै धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । ‘पार्टीको क्षेत्रीय कमिटी, जिल्ला समितिले समेत तपाई नै हो हाम्रो उम्मेदवार, तपाई उठ्नु भयो भने जित्नु हुन्छ भनेर सिफारिस गर्दा पनि नेताहरूको वक्रदृष्टिले उम्मेदवारमा सिफारिस हुन सकिएन,’ भोजपुरबाट प्रदेशसभामा उम्मेदवार सिफारिस भएका, तर सूचीमा नपरेका तरुण दलका उपाध्यक्ष उत्तम चापागाईले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here