कोटेश्वरको जाम बढ्न थालेपछि यात्रुहरु चिन्तित् बनेका छन् ।

0
2415

काठमाडौं, २० कात्तिक । भक्तपुरसहित काभ्रे, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापलगायत पूर्वी क्षेत्रबाट काठमाडौं भित्रिने प्रमुख नाका हो– कोटेश्वर । तर, काटेश्वरमा हुने घण्टौं जामले यात्रु मात्रै होइनन् एम्बुलेन्समा रहेका बिरामीले उपचार नपाई ज्यान गुमाउनु पर्ने जोखिम उत्तिकै छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा डीआईजी सर्वेन्द्र खनाल आएपछि कोटेश्वरको जाममा केही कमी आएको थियो । तर, अहिले फेरि कोटेश्वरको जाम बढ्न थालेपछि यात्रुहरु चिन्तित् बनेका छन् ।

कोटेश्वरमा बिहानैदेखि जाम हुने गरेको छ । कार्यालयमा समयमा हुने जाम लोकन्थली कटेर कौशलटार पुग्न थालेपछि कामकाजी र अत्यावश्यक यात्रामा निस्केकाहरु मर्कामा परेका छन् । त्यसमाथि गाडीमा क्षमताबन्दा बढी यात्रु चढाउँदा यात्रुहरु हैरानमा छन् । काठमाडौं उपत्यकाभित्र सहज र सरल यात्राको बारेमा बहस र छलफल हुने गरेको भएपनि व्यवहारमा भने उतार्न सकिएको छैन ।

साझा यातायातको मनोमानी !

काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका सार्वजनिक यातायात क्षेत्रको दादागिरी चलिरहेका बेला सर्वसुलभ, अनुशासित र सभ्य यातायात सेवा दिन आएको साझा यातायात सबैको आकर्षण भएको थियो । तर, यस साझा यातायातको सेवाको गुणस्तरमा अहिले कमी आउन थालेको देखिन्छ ।

साझा यातायातका बसहरु पनि बसस्टप नभएका ठाउँमा यात्रु चढाउने तथा ओराल्ने गरेका देखिन्छ । सोमबार बिहान १० बजे भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर आइपुगेको बा४ख ५६५८ नम्बरको साझा यातायात बसले पनि जथाभावी यात्रु चढाउने र ओराल्ने गरेको देखियो । अझ रोचक त उक्त बसका चलाकले काटेश्वरमा खटिएका ट्राफिक प्रहरीले गाली गरेको देखियो ।

भक्तपुरबाट तिनकुने तर्फ आउनेक्रममा काटेश्वर चोक कटेपछि निकैबेर बस रोकेकाले ट्राफिक प्रहरीले बस अगाडी बढाउन सिठ्ठी फुकेका थिए । तर, बा४ख ५६५८ नम्बरको साझा यातायात बसका ति चालकले ‘यात्रु चढिरहेको’ भन्दै बस अगाडि बढाएनन्, जसले गर्दा जाम कोटेश्वर चोकसम्मै पुगेको थियो ।

फेरि अर्का ट्राफिक प्रहरीले बसलाई अगाडी बढाउन भने, तर चालकले उल्टै ट्राफिक प्रहरीलाई गाली गरेर अटेर गरे । यदी साझा यातायात बाहेकका बसका चालकको सो व्यवहार गरेका भए ट्राफिक प्रहरीले चिट काटेर कारबाही गर्थे, तर साझाका चालकलाई केही नगरेको देख्दा यात्रुहरु समेत अचम्मित् भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here