कोरोना संक्रमित महिला को आर्थिक कम्जोर मानेर अस्पतालले उपचार गर्न नमानेपछि महिलाले आत्महत्या गरीन ।

0
173

मोरङ- कोरोना पोजिटिभ संक्रमित र आर्थिक विपन्नताले घेरिएकी एक महिलाले अन्ततः आत्महत्याको बाटो रोजेकी छिन्। घटना दसैँको टीका कात्तिक १० गतेको हो।

मोरङको रतुवामाई नगरपालिका १० की ४० वर्षीय महिलाको आर्थिक पाटो कमजोर देखेर अस्पतालले उपचार गर्न नमानेपछि घर पुगेर आत्महत्या गरेकी हुन्।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नमानेर नरमाया मगरलाई घर पठाएको पीडित परिवारका सदस्यले बताएका छन्।

मगरका श्रीमान टेकबहादुरका अनुसार कोरोना लक्षणसँगै नरमायामा कात्तिक ९ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि परिवारलाई अस्पतालले दैनिक १८ हजार रुपैयाँ उपचारमा खर्च लाग्ने जानकारी गराएको थियो।

सरकारले नै कोभिड १९ का विरामीको शुल्क लिने ब्यवस्था गरेपछि निःशुल्क उपचार गर्न नसकिने भन्दै विरामीलाई नोबेलले घर पठाएको थियो। परिवारले कात्तिक ९ गते घर पुर्‍याएको भोलिपल्ट नरमायाले शौचालयमा पासो लागेर आत्महत्या गरेकी थिइन्।

यद्यपि रतुवामाई नगरपालिकाका मेयर रविन राईका अनुसार विरामीका परिवारलाई विरामीलाई थप उपचारका लागि अस्पतालमा राख्न सुझाव दिइएको थियो। दुवै मृगौला खराब भएर डाइलाइसिस गर्दै आएकी नरमायालाई अस्पतालमा राखेर उपचार गर्दै जाँदा पछि सहयोग जुटाउनेतर्फ ब्यक्तिगत रुपमा आफूले आश्वासन दिएको मेयर राईको भनाइ छ।

मेयर राईले कोभिड १९ संक्रमण पुष्टि भइसकेपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा समेत उपचारका लागि ब्यवस्था गरेको बताए। ‘कोभिड अस्पतालमा लाग्ने खर्च ब्यहोर्ने समेत बताएका थियौँ।तर, अन्तमा परिवारले विरामीलाई घरमै फिर्ता ल्याएका रहेछन्,’ मेयर राईले भने।

खेती किसानी गर्दै आएका मगर परिवारको आर्थिक उपार्जन हुने अरु बलियो आधार नहुँदा उपचारकै रकमबाट तर्सिएर घटना भएको हुनसक्ने स्थानीयको बुझाइ छ। ८ कात्तिकमा स्वास्थ्यमा समस्या देखिएपछि टेकबहादुरले विरामी श्रीमतिलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गराएका थिए। दुबै मृगौलामा समस्या भएकाले ९ कात्तिक विहान करिब ३ बजे डाइलसिस भयो।

डाइलसिस गरेको केही समयपछि कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। आइसोलेसनमा भर्ना भएपछि उपचारका लागि दैनिक १८ हजार रुपैयाँ खर्च हुने अस्पतालले जनाएपछि मगर परिवारले विरामीको थप उपचारको आँट गर्न सकेन। टेकबहादुरले भने, ‘उपचार गर्न पाइन्छ कि भनेर कोसिस गरियो, तर सरकारले नै हात उठाएछ, खर्च नभएपछि घर फिर्ता ल्याएँ।’

कात्तिक १० गते दशैंको टीकाको दिन बिहान श्रीमातीसँग गफ गरेको उल्लेख गर्दै उनले दिउँसो घटना भएको जानकारी दिए। नरमायाको दुबै मृगौलामा समस्या देखिएपछि असारबाट नियमित डाइलसिस हुँदै आएको थियो ।

नोबेल मेडिकल कलेजले कोरोना संक्रमितलाई रकम नभएकै कारण घर फिर्ता नपठाएको दाबी गरेको छ। अस्पतालका प्रबन्धक नारायण दाहालले संक्रमितलाई घर नपठाएको दाबी गरे। ‘हामीले विरामीलाई घर पठायो भन्ने आरोप गलत हो,’ उनले भने, ‘हामीले उपचार गरिरहेका छौं, कसैलाई घर पठाएका छैनौं।’

त्यसैगरी मेयर राईका अनुसार पछिल्लोसमय कोभिड १९ को उपचार, पिसिआरको रकम विरामी स्वयंले ब्यहोर्नुपर्ने सरकारीको नियमानुसार सर्वसाधारण पिसिआर परीक्षण गर्न पछि हट्न थालेका छन्।

विभिन्‍न रोगको निःशुल्क उपचारका लागि सरकारले कागजमा मात्र ब्याख्या गरेको उल्लेख गर्दै उनले पालिकाको सिफारिस समेत उपचारका लागि अमान्य हुदै गएको गुनासो गरे। महामारीको समय सरकारले जनतालाई सहयोग गर्दै छुट दिनुपर्नेमा रकम लिदै जानुले गरिव विपन्नमा थप समस्या बढ्दै गएको मेयर राईको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here