चुप लागेर बस्नु हुँदैन आत्म सम्मान ठूलो कुराहो : प्रहरी महानिरिक्षक (आईजी) सर्बेन्द्र खनाल ।

0
693

बैशाख ४काठमाडौं – प्रहरी परिसरका एक पूर्व प्रमुख (एसएसपी) कोही तल्लो दर्जाको प्रहरी आफूलाई बेवास्ता गर्दै अगाडिबाट आइरहेको छ भने वेस्मारी गाली गर्थे।

‘म आइरहेको देखिनस्?’ भन्दै तल्लोस्तरका शब्द प्रयोग गर्थे। उनीसँग मातहतका कर्मचारीहरु डरले ‘थुरथुर’ हुनु नियमितजस्तै थियो।

‘उहाँ अगाडि आइरहेको देख्ने बित्तिकै आफ्नो कोठामा पसिहाल्थ्यौं। उहाँसग खुलेर बोल्ने त कुरै छाडौं, उहाँको बाटोमा पर्ने आँट महँगो बन्न सक्थ्यो’, ती एसएसपीसँगैं काम गरेका परिसरकै एक नायब निरीक्षक भन्छन्।

गत महिना दरबारमार्गमा मदिराले लठ्ठ एक युवकले ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरे।

‘म एआईजीको छोरा हुँ, तँजस्ता प्रहरी त मेरो घरमा खाना पकाउँछन्, जुत्तामा पालिस लगाउँछन्’ भनेपछि प्रहरीले ती युवकलाई कुट्दै भ्यानमा राखेर दरबारमार्ग वृतमा ल्याएर राखे।

तर, भोलिपल्ट थाहा भयो, ‘ती युवक साँच्चिकै बहालवाला एक एआइजी (हाल अवकाश) का छोरा थिए। ‘माथिकोे’ निर्देशन आएपछि उनी सोही दिन छुटे। तर कहानी यत्तिमै सीमित भएन। ती युवकलाई पिटेको आरोपमा दरबारमार्ग वृतका प्रहरी निरीक्षकसहितका केही कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ।

निर्मम पिटेकै आधारमा उनीहरुलाई कारबाही गरिएको हो भने के सर्वसाधारणका छोराछोरीलाई त्यसरी पिटिएको थियो भने ती प्रहरीलाई कारबाही हुन्थ्यो? आफु्सूग अलिक चर्कोसँग बोल्ने र तर्क गर्नेलाई समातेर ‘खोरमा’ हाली सार्वजनिक मुद्दा चलाउने प्रहरीबाट यो कति अपेक्षा गर्न सकिन्छ ?

प्रहरीबाट दुर्व्यवहार वा त्यस्तै प्रकृतिका अन्य गतिविधिहरु भए संगठन (नेतृत्व) को औपचारिक वा अनौपचारिक जवाफ हुन्छ–तल्लो दर्जाका प्रहरीले जान्दैनन्, अनपढ हुन्छन्। उनीहरु मुर्ख हुन्छन्।

तर, प्रहरीमा फिल्डमा खटिने भनेका तल्लो दर्जाकै कर्मचारी हुन्, खासगरी जवानदेखि नायब निरीक्षकसम्म। यसमा पनि सबैभन्दा बढी जवान र त्यसपछि हवल्दार। तर संगठनमा आन्तरिक र बाह्य दुर्व्यवहारको सिकार सबैभन्दा बढी उनीहरु नै हुन्छन्, माथिल्लो दर्जाका हाकिम वा कर्मचारीबाट होस् या राज्यले दिने सेवा सुविधा।

‘सबैभन्दा बढी योजना चाहिने भनेकै प्रहरी जवान र हवल्दारहरुका लागि हो, जो फिल्डमा खटिन्छन्। नेतृत्व तहमा रहेर माथि माथिको मात्र नहेरी तल काम गर्ने ती प्रहरीमा केन्द्रित छु। किनभने बुट बजारेर परिवार नभनी दिनरात खट्ने समूह ठूलो छ, त्यसलाई मुटुमा राखेर काम गर्छु’, प्रहरी महानिरिक्षक (आईजी) नियुक्त भएपछि सर्बेन्द्र खनालले भनेका छन्।

प्रहरी निरीक्षकमा भर्ना भएको कुनै प्रहरीले संगठनको नेतृत्व गर्छ वा उसका अन्य ‘ब्याजी’हरु कम्तीमा एसएसपी वा डीआइजीसम्म हुन्छन्। तर प्रहरी जवानमा भर्ना भएको प्रहरीमध्ये अधिकांश हवल्दार वा सहायक निरीक्षकमै अवकाश पाउँछन्। केहीको जवानमै ‘रिटायर्मेन्ट’ होला १ तर प्रहरी संगठनमा यस्ता विषय गौण बन्छन्।

‘संगठनमा सँधैं हेपिएर, पेलिएर र माथिकाले जे गरेपनि चेन अफ कमान्ड भन्दै चुप लागेर बस्नुपर्ने अवस्था नै सबैभन्दा ठुलो समस्या हो। आत्मसम्मान ठूलो कुरा हो। यसलाई सुनिश्चित गरेमात्र हामीले तल्लो दर्जालाई न्याय गर्छौ,’ केही महिनाअघि सहायक निरीक्षकमा अवकाश पाएका एक प्रहरी भन्छन्।

कुनै दर्जा र लगत्तै त्यसभन्दा माथिको दर्जाबीच देखिने गहिरो र फराकिलो खाडल नै सबैभन्दा ठूलो समस्या भएको प्रहरी अधिकारी बताउँछन्। ‘सबैभन्दा ठूलो समस्या त आपसमा हुने ब्यवहारको हो, जुन हामीले सुधार गर्नुपर्छ। तर यो कुरा त संस्कार नै जस्तो भइसकेको छ’, नाम उल्लेख नगर्ने शर्तमा प्रहरी प्रधान कार्यालयका एक बहालवाला प्रहरी उपरीक्षक भन्छन्।

अहिले पनि धेरै तल्लो दर्जाका प्रहरी, पुर्व तथा वर्तमान उच्च प्रहरी अधिकारीका घरमा घरेलु कामदारका रुपमा कार्यरत छन्। देशको सुरक्षा गर्न भर्ना भएका उनीहरुलाई घरेलु कामदारका रुपमा काम लगाइएको छ।

गत साउनमा तत्कालीन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिपाहीको सन्तुष्टिलाई प्राथमिकता दिने बताउँदैं उनीहरुका गुनासा सुन्ने पनि बताएका थिए।

सुरक्षाबाहेकका काममा प्रहरीलाई नखटाइने उनका योजनामा उल्लेख थिए। हालका गृहमन्त्री रामबहादुर थापाले सुरक्षाबाहेकका, खासगरी घरेलु कामदारका रुपमा कार्यरत प्रहरी कर्मचारीलाई फिर्ता बोलाउन निर्देशन दिइसकेका छन्। यसमा अधिकांश जवान र हवल्दार नै छन्।

अहिले प्रहरीमा १५/१६ अगाडि जवानका रुपमा भर्ना भएकाको बढुवा अझै भएको छैन। २०७४ सालमा मात्र १५ सय भन्दा बढी प्रहरीले राजीनामा दिएका छन्। यसमा ठूलो संख्या हवल्दार र त्यसपछि जवानको छ। यी दर्जाहरुमा पहिलाको तुलनामा भर्नाका लागि आवेदन पनि निकै घटेको छ।

‘अहिले रोजगारका धेरै अवसर सिर्जना भए। प्रहरीमा किन भर्ना हुने ? भन्ने प्रश्नको जवाफ हामीले दिन सक्नुपर्छ?’ हाल राजधानीको एक सेक्युरिटी कम्पनीमा कार्यरत पुर्व प्रहरी सहायक निरीक्षक भन्छन्।

हालै नियुक्त भएका नेपाल प्रहरीका आइजी खनालले माथिल्लो तहमा सीमित सेवा सुविधालाई जवान, हवल्दारजस्ता तल्लो तहसम्म विस्तार गर्ने बताएका छन्। यसको प्रारुप कस्तो हुन्छ ? केही बताइएको छैन।

तर, संगठनभित्र यी दर्जाका प्रहरीले कसरी आत्मसम्मानसहित काम गर्न पाउँछन्, यो चुनौतीको विषय हो। यसमा उनीहरुको वृत्ति विकास समेत अर्थपूर्ण हुने छ। संगठनले उनीहरुमाथिको ‘अनपढ र मुर्ख’ परिभाषा कसरी परिमार्जन गर्छ? यसले पनि प्रहरीभित्रको आन्तरिक लोकतान्त्रीकरण मूल्यांकन हुने छ। स्रोत देश संचार।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here