डिभोर्स माग्दा तेरो बिहेमा लागेको खर्च दे अनि तँ जा भन्नुभयो…..

0
133

तपाईंहरुको मूल्यवान् समय खेर नफालूँ भनेर मेरो समस्यालाई छोटकरीमा लेख्ने प्रयास गरेकी छु। मेरो बिहे भएको एक वर्ष भयो तर सोचेकोजस्तो कहिल्यै पनि भएन। सधैँ घरझगडा भइरह्यो, हामी श्रीमान्–श्रीमतीबीच।

झगडाको कारण सधैँ एउटै हुन्थ्यो। मेरा श्रीमान् लागुऔषध सेवन गर्नुहुन्थ्यो। बिहे गर्ने सोच त थिएन तर मेरो माइती र घर दुवै पक्ष पहिले पुरानो चिनजान भएकाले आमा–बाबा आफन्तले बिहे गर्न कर गर्नुभयो। शुरुमा त मैले बिहे गर्न इन्कार गरेँ। पछि बिहेका लागि राजी नभई सुखै पाइनँ।

बिहे भएको ४/५ महिना गुज्रिएपछि भने बिस्तारै सबै कुरा थाहा पाउँदै गएँ। श्रीमान्ले  लागुऔषध प्रयोग गर्ने गरेकोबारे थाहा नदिन सुरुसुरुमा मेरो अघिल्तिर चुरोट खान पनि असहज मान्नु हुन्थ्यो। श्रीमान्लाई पहिले पनि सुधारगृह राखिसक्नु भएको रहेछ भन्ने कुरा घरकाले लुकाएका रहेछन्। सुधार गृहबाट निकालेलगत्तै मसँग बिहे गराइएको रहेछ। घरका आमाबुबाले मलाई धेरै नै माया गर्नुहुन्छ तर जो भए पनि आफ्नै श्रीमान्सँग सारा जिन्दगी बिताउनु छ, उहाँले कहिल्यै राम्रो व्यवहार गर्नु भएन। धेरै कोसिस ग-यौँ हामीले, उहाँलाई कुलतबाट छुटाउन। अस्पताल राख्यौँ, अस्पतालले मनोविद्सँग सल्लाह लिन भने। त्यो पनि ग-यौँ तर यस्ता लागुपदार्थ सेवनकर्ताहरुको छुट्टाछुट्टै व्यवहार हुँदोरहेछ। त्यसमध्ये मेरो श्रीमान् एकदम अग्रेसिभ हुनुहुन्छ। जहिले पनि छिटो रिसाउने, रिसमा अपशब्द प्रयोग गर्ने मात्र होइन, प्रायः कुट्पिट् त गरिहाल्नु हुन्छ।

धेरै समय यो प्रक्रिया चलिरह्यो। मैले धेरै सम्झाउँदा पनि नभएपछि अहिले उहाँलाई फेरि सुधारगृह राखेका छौँ।

धेरै पटक मरणाशन्न हुनेगरी पिटाइ खाएँ। धेरै नराम्रा गालीगलौज सुनेँ। कहिलेकाहीँ त सहनै गाह्रो भएर डिभोर्स पनि मागेँ। डिभोर्स माग्दा तेरो बिहेमा लागेको खर्च दे अनि तँ जा पनि भन्नुभयो। कहिलेकाहीँ माया गरेजस्तो पनि गर्नुभयो। बिरामी परेर अस्पतालमा भर्ना हुँदा पनि उहाँ रुग्न बस्नुहुन्थ्यो। त्यो बेला जहिले पनि लागुऔषध प्रयोग गरेर आउने गर्नु हुँदोरहेछ।

गएको शनिबार सुधार केन्द्रमा उहाँलाई भेट्न गएकी थिएँ। कहिले निकाल्छेस् भन्दै हुनुहुन्थ्यो। मैले अलि समयपछि भनेँ। जे–जस्तो भए पनि बिहे गरेर सिँउदो रङ्गाइसकेपछि माया त त्यसै लाग्दोरहेछ। उहाँको सुध्रिने छाँटकाँट छैन। अझै पनि म उहाँलाई राम्रो भएको हेर्न चाहन्छु।

जीवनभरि साथ दिन चाहन्छु तर उहाँले बुझ्नुहुन्न। साथीसङ्गत पनि राम्रो छैन। म जहिले भन्ने गर्छु, बरु गाउँ गएर बसुम् तर उहाँ सानो छँदाबाट यतै बस्नु भएकोले उहाँलाई गाउँ सहज लाग्दैन भन्नुहुन्छ। आमा–बाबालाई यो घर बेचेर गाउँ जाउँ भन्छु।

मेरो माइतीलाई यस्ता घटनाबारे केही पनि थाहा छैन। आमा–बाबाले जहिले घरमा राम्रो गर्नू, कसैलाई दुःख नदिनू, गरिखानू भन्नुहुन्छ। उहाँहरुको आशीर्वाद सुन्दा आँखाबाट आँशु आउलाझैँ हुन्छ। मुटु गाँठो पर्छ। दुःख लाग्छ। आमालाई यी सारा पीडा धक फुकालेर सुनाऊँजस्तो लाग्छ तर सक्दिनँ। यही कारणले पनि मेरो पढाइ बिग्रियो। त्यसमा समय दिन सकेकी छैन।
के गर्दा ठीक होला, गम्भीर भएर कसैले सुझाव र सल्लाह दिनुहोस् न !समाचार /shukrabar.nagariknetwork.com/ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here