पुष २० काठमाण्डौ | चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले बुधबारदेखि १६ औँ चरणको अनसन थाल्ने तयारी गरेका छन् । आफ्ना माग पूरा गर्न मंगलबारसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका छन् । १५ औँ सत्याग्रहका क्रममा गएको साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन, सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन लगायत माग पूरा गर्न सरकारलाई उनले मंगलबारसम्मको अल्टिमेटम दिएका थिए ।
सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना सुरु नभएको लगायत मागमा सरकार गम्भीर नभएको निष्कर्षसहित डा. केसीले १६ औं चरणको अनसनको तयारी गरेका हुन् ।
केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने, सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।ओएस नेपाल |