नेपथ्य तेस्रो पटक सेप्टेम्बर १ मा बेलायतमा प्रस्तुत हुने |

0
556

भाद्र ५ काठमाण्डौ | पाँच वर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ।

यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो। यसै सेप्टेम्बरको १ तारिख (भदौ १६ गते) का दिन बेलायतमा प्रदर्शनको तयारी ब्याण्डले सुरु गरिसकेको छ।

‘सन् २०१५ मा दोश्रोपटक नेपथ्यले आफूलाई प्रस्तुत गर्दा सबै हिसाबले ब्याण्डका निम्ति त्यसलाई अनुकूल देखिएकोले फेरि त्यसै स्थललाई रोजेका हौं’ ब्याण्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।’

कार्यक्रमका निम्ति ओ टु एकेडेमीले पहिलेजस्तै अनलाइन बुकिङको समेत ब्यवस्था गरेको छ।

त्यस हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुले आफूलाई उभ्याएर प्रस्तुत गरिसकेका छन्। त्यसैगरि विश्वप्रसिद्ध नामहरु एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता अरु थुप्रै नामहरु ओ टु एकेडेमीसँग जोडिएका छन्।

दुइसय वर्षअघि नेपालसँग सबैभन्दा पहिलो दौत्य सम्वन्ध स्थापना गर्ने बेलायत नेपालसँग सामाजिक, आर्थिक र साँस्कृतिक हिसाबले नजिक छ। नेपाली लाहुरेहरुले दुइवटै विश्वयुद्धमा बेलायतका तर्फबाट लडेका थिए। उनीहरुमध्ये धेरै सपरिवार कर्मभूमिमा बसोबास गर्दैआएका छन्।

त्यसैगरि शैक्षिक अवसरदेखि लिएर विभिन्न व्यावसायका हिसाबले बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बढ्दो छ।

यसरी विदेशिनेहरुले आफूसँगै आफ्नो भाषा, भेष र पहिचान बोकेर जाने गर्छन्। नेपाली लोकगीतलाई नयाँ पुस्ताका श्रोतासँग जोड्दै आएको नेपथ्यले बेलायतमा सदैव न्यानो स्वागत पाउँदै आएको छ।

‘हामीले घरबाट टाढा पुगेकाहरुलाई घरको माया बोकेर लगिदिने गरेका छौं,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ।’

ताजा सर्भेक्षण अनुसार बेलायतमा यतिबेला ८० हजार नेपाली बसोबास गर्दैछन् भने वर्षेनी ३० हजार बेलायती पर्यटक नेपाल घुम्न आउँछन्।

‘हामी नेपथ्यको नयाँ अल्बमको काममा अहिले पनि तल्लीन छौं,’ अमृतले थपे, ‘लण्डनमा नेपथ्यका सर्वकालीक हिट गीतहरुका साथमा केही नयाँ गीतहरु पनि पक्कै सुनाउने छौं।’

बेलायतको शोलाई यसपटक ‘देब्रे इभेन्ट्स्’ का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन् ।

सँधैझैँ यसपटक पनि लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्। स्रोत नेपाल खबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here