पूर्व राजदूत केशवराज झाको हत्यारा ३ जनालाई पक्राउ |

0
621

भाद्र ५ काठमाण्डौ | पूर्व राजदूत केशवराज झाको हत्या अभियोगमा ३ जनालाई पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ । प्रहरीले झाको हत्या भएको ठहर गर्दै घरका सुरक्षागार्ड सानु तामाङसहित अन्य दुई सहयोगीलाई नियन्त्रणमा लिएको हो ।फ्रान्सका लागि पूर्व राजदूत झा सोमबार बिहान बबरमहलस्थित आफ्नै घरको ओछ्यानमा मृत फेला पर्नुभएको थियो । उहाँको टाउको र घाँटीमा चोट लागेको, हत्यामा घरकै भान्साको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि सुरक्षा गार्ड तामाङ र झाको घरमा मालीका रुपमा काम गर्ने अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

८० वर्षीय झाको हत्या रातको १ देखि २ बजेका हाराहारीमा भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । श्रीमान्÷श्रीमती फरक–फरक कोठामा सुत्ने गरेकाले बिहान अबेरसम्म झा नउठेपछि झाकी श्रीमती ज्ञानुले सुरक्षागार्ड तामाङ र मालीको सहयोगमा ढोका खोल्दा उहाँ मृत अवस्थामा फेला पर्नुभएको बताइएको छ । झा सुत्ने कोठाको झ्यालको जाली च्यातिएको पाइएकाले हत्या नियोजित रुपमा भएको प्रहरीको ठहर छ ।

उहाँका छोरा किरणराज र बुहारी आयरल्यान्ड बस्दै आउनुभएको छ, उहाँहरु गत शनिबार मात्रै त्यता जानुभएको पारिवारिक स्रोतले जनाएको छ । छोरी राजश्री संयुक्त राष्ट्रसंघमा कार्यरत रहेकाले उहाँ पनि स्वदेशमा हुनुहुन्न । ३० वर्षसम्म परराष्ट्र सेवामा विताउनुभएका स्वर्गीय झा परराष्ट्र सेवाबाटै २०४९ देखि २०५४ सम्म फ्रान्सका लागि राजदूत बन्नुभएको थियो । राजदूत नियुक्त हुनुअघि उहाँ परराष्ट्रमा शिष्टाचार महापाल र त्यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा कार्यरत हुनुहुन्थ्यो ।

झा राजदूत रहेका बेला नेपाल युनेस्कोको बोर्डमा नेपाल निर्वाचित भएको थियो भने उहाँ फ्रान्समै रहेका बेला नेपालको तर्फबाट विभिन्न समयमा उच्चस्तरीय भ्रमण भएका थिए । तत्कालीन राजा वीरेन्द्र, पूर्वप्रधानमन्त्रीद्वय मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, तत्कालीन उप–प्रधानमन्त्री माधवकुमार नेपाललगायतले फ्रान्सको भ्रमण गर्नुभएको थियो । झाको कार्यकालमा यूरापेली मुलुकमा नेपालका उच्च र विशिष्ट अधिकारीहरुको भ्रमणले नेपालको सम्बन्ध अन्तर्राष्ट्रिय तहमा फराकिलो बन्ने अवसर भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । नेपाल समाचारपत्रमा खबर छ ।

उहाँको अकल्पनीय निधनले मुलुकले परराष्ट्र क्षेत्रका अनुभवी गुरु र ठूलो अभिभावक गुमाएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् । फ्रान्सकै लागि पूर्वराजदूत रहनुभएका मोहनकृष्ण श्रेष्ठ भन्नुहुन्छ–‘झा सरजस्तो अनुभवी र सबैलाई हौसला प्रदान गर्ने व्यक्ति परराष्ट्र सेवामा विरलै पाइन्छ, उहाँ त सबैका गुरु र अभिभावक हुनुहुन्थ्यो । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here