प्रकाश-सन्तोषको गन्तव्य सार्वजनिक ।

0
1011

चैत २२ काठमाण्डौ। गत सोमबार १९ गते मिडिया ईन्टरनेशनल अनामनगर काठमाण्डौमा गीतकार प्रकाश के.सी. र लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको आधुनिक गीति एल्बम गन्तव्य सार्वजनिक भएको छ । विगत डेढ दशक देखि आधुनिक सङ्गीतको क्षेत्रमा सहाकार्य गर्दै आएका स्रष्टाद्वय प्रकाश के.सी. रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगिता-२०७३ मा सर्वोत्कृष्ट गीतकार भए भने, सन्तोष श्रेष्ठ २०७४ मा सर्वोत्कृष्ट सङ्गीतकार भएका हुन् ।
कामना डिजिटलको प्रस्तुतिमा प्रकाशन भएको गन्तव्य एल्बममा ६ वटा गीतहरू समावेश गरिएको छ । सीडीको पहिलो नम्बरमा रेडियो नेपालमा उत्कृष्ट भएको मनोज राजको स्वरमा (रगत पनि बग्दैन)राखिएको छ । साथै अन्जु पन्तको स्वरमा (जताजता दियो बाल्छु) प्रमोद खरेलको स्वरमा (जब आफ्नो मनको मान्छे) कृष्णभक्त राईको स्वरमा (म अधेरी रात अधेरी) अन्जु पन्तको स्वरमा (तिम्रो माया मुटु रेट्ने ) मन्जु उपासनाको स्वरमा( मुटुमा चोट दियौ) राखिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले प्रकाश के.सी. दाङमा बसेर पनि नेपाली मौलिक पनका र आफ्नो निजत्त्व देखिने बिम्ब प्रतीक प्रयोग भएका गीतहरू लेख्न सक्ने गीतकार भएको बताए । विशिष्ट अतिथि वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले सङ्गीतको बारेमा बोल्दै एल्बममा सन्तोष श्रेष्ठले सङ्गीतमा आफ्नो धार वा शैली परिवर्तन गरेको र नयाँ तरिकाले सङ्गीत पस्केको बताए । आधुनिक सुगम सङ्गीतको क्षेत्रमा सन्तोष यो पुस्ताकै एक प्रतिनिधि सङ्गीतकार भएको धारणा राखे । कामना डिजिटलका प्रबन्धक टुकराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, गीतकार/ पत्रकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रकाश के.सी.ले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन पत्रकार सुमन बैरागीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here