प्रचण्ड अमेरिकाबाट फर्केपछि योगेश भट्टराईलाई मन्त्री नियुक्त गर्ने : प्रधानमन्त्री केपी शर्मा ओली |

0
180

काठमाडौं-नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि योगेश भट्टराईलाई मन्त्री नियुक्त गर्ने आश्वासन दिएका छन्।

आइतबार नेकपा प्रदेश कमिटी प्रदेश नम्बर १ को पहिलो बैठक तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीले कार्यक्रममा भेट भएका नेता भट्टराईलाई ठट्यौली शैलीमा प्रचण्ड अमेरिकाबाट फर्केपछि मन्त्री नियुक्त गर्ने बताएका हुन्।

प्रदेश कमिटीको कार्यक्रमस्थलमा छिर्ने क्रममा भट्टराईसँग जम्काभेट भएपछि प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा ‘योगेशलाई मन्त्री बनाउन भनेको बन्दिन भनेको सुन्छु कुरा के हो’ भन्दै कुराकानी सुरु गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार जवाफमा भट्राईले आफू मन्त्री बन्न तयार रहेको र अहिले नै शथप खुवाए पनि तयार रहेको बताए ।

प्रधानमन्त्रीसँग कुरा भएको पुष्टि गर्दै भट्टराईले देश सञ्चारसँग भने, ‘मैंले पनि प्रधानन्त्रीलाई हास्दै शपथ यहीँ गराइदिनुहोस्, मेरा एक नम्बर प्रदेशका साथीहरु पनि यहीँ हुनुहुन्छ। एउटा पत्र तयार पारे भइगोनी भने ।’

भट्टराईले तत्कालै मन्त्री बनाए पनि तयार रहेको बताए प्रधानमन्त्री ओलीले अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर रहेकाले अहिले नमिल्ने जवाफ दिए ।

‘उहाँले अर्का अध्यक्ष नभएकाले अहिले मन्त्रीको शपथ खुवाउन मिल्दैन भन्नुभयो। अनि मैंले कहिले हुन्छ त ? मेरा त धेरै साथीहरु छन्, बोलाउन दुई तीन दिन पहिल्यै खबर चाहिन्छ भने,’ योगेशले देश सञ्चारसँग अगाडि भने, ‘त्यसपछि प्रधानमन्त्रीले मेरो भाषण नसुनी हिँडेको भनेर प्रसंग फर्नुभयो ।’

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर फागुन १५ गते संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका छन्।

मन्त्रिमण्डल हेरफेर हुने चर्चा चले पनि प्रधानमन्त्री ओलीले मन्त्री नफेरिने बताउँदै आएका छन् । आइतबार विराटनगरमा ओलीले मन्त्रिमण्डल फेरबदल नभइ पूर्णता दिने बताएका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड श्रीमती सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् । उनी १० दिनपछि मात्र स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । स्रोत देशसंचार |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here