प्रधानमंत्री केपी ओली र अध्यक्ष प्रचण्ड बीच: मनमुटाव आखिर किन ?

0
886

चैत १८ काठमान्डौ । सम्मानजनक हैसितमा दुवै पार्टी एकता गर्ने भद्र सहमतिअनुसार प्रक्रिया अघि बढेको अवस्थामा एक्कासि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका बीचमा दरार सुरु भएको छ । अन्तिम समयमा आएर एमालेले ‘आए आउ नआए पनि ठीकै छ’ भन्ने हिसाबले पार्टी एकतामा दादागिरी देखाउन थालेपछि दाहालले पनि भद्र सहमतिको क्रम भंग गर्दै बरावरी हैसियतमा मात्र पार्टी एकताको नयाँ सर्त अघि सारे। प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता टुंग्याउन पर्ने पक्षमा रहेका माओवादी अध्यक्ष दाहालले अन्तिम समयमा आएर माओवादी विलय हुनुपर्ने खालको व्यवहार एमालेले देखाएपछि दाहालले सबै कमिटी र पदमा बराबरी हैसियत नभए पार्टी एकता नै नगर्ने चेतावनी दिएका छन् ।पार्टी एकताका लागि गठन भएका विधान मस्यौदा तयारी कार्यदलका संयोजक रामबहादुर थापा र राजनीतिकसम्बन्धी प्रस्ताव तयार पार्ने कार्यदलका संयोजक एमाले नेता माधवकुमार नेपालले हतारहतारमा प्रतिवेदन तयार गर्दै आगामी वैशाख १० भित्रमा पार्टी एकता गर्ने सहमति गरेका छन् । तर, पार्टी एकताले कस्तो मोड लिनेछ भन्ने विषयको टुंगो भने प्रधानमन्त्री ओलीले भारत भ्रमण सकेर फर्किएपछि मात्रै लाग्ने भएको छ ।पार्टी एकता गर्न नदिन देशी र विदेशी शक्तिहरू लागिरहेको बताउँदै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि ओलीको भारत भ्रमणप्रति सशंकित देखिएका छन् । भारतले कहिल्यै पनि कम्युनिस्ट एकता नचाहेको र भारत भ्रमणका क्रममा ओलीले भारतसँग पार्टी एकताका विषयमा अर्कै सहमति गरेर फर्किन सक्ने आशंका पनि दाहालले गरेको माओवादी स्रोतले बताएकाे देशान्तरमा खबर छ ।दुई दलबीच अन्य पदीय विषयमा सहमति नजिक पुगे पनि मुख्य सिद्धान्त र पार्टीको आधिकारिक चिन्हका विषयमा अझै पनि कुरा मिलेको छैन । चुनाव चिन्हका विषयमा दुवै पार्टी एकीकरणको अन्तिम तयारीमा पुग्दा पनि विवाद कायमै रहेको छ । यो विवाद ठूलो नभए पनि तल्लो तहबाट भने समाधान हुन नसक्ने नेताहरूले बताएका छन् । एकीकृत पार्टीको चुनाव चिन्ह ‘सूर्य’ नै राखौं भन्ने प्रस्ताव एमालेको छ  भने माओवादीले सूर्य चिन्हलाई परिमार्जन गरी नयाँ चिन्हको प्रस्ताव गरेको छ । माओवादीको समेत पहिचान झल्किने गरी सूर्य र हँसियाहथौडा चिन्ह मिलाउनुपर्ने माओवादी अध्यक्ष दाहालले पछिल्लो समयमा माग राखेका छन् । तर, एमाले कुनै पनि अवस्थामा सूर्य चिन्ह नै जनतामा भिजिसकेकाले यसलाई परिवर्तन गर्न नहुने अडानमा बसेको छ ।
चुनाव चिन्हबाहेक पार्टीको विधानमा पनि जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्नेमा विवाद छ । एमालेले जनक्रान्ति शब्द सहमति जनाए पनि माओवादीले जनयुद्धलाई छाड्न नसकिने अडान राखेको छ । जनयुद्धभन्दा ठूलो अर्थ त जनक्रान्तिले दिने एमालेको तर्क छ । माओवादीले भने दसवर्षे सशस्त्र युद्धका कारण गणतन्त्र स्थापना भएकाले ‘जनयुद्ध’ लाई नजरअन्दाज गर्न नमिल्ने भन्दै जनयुद्ध शब्दलाई छाडेर पार्टी एकता नहुने अडान राखेको छ ।
झन्डा र जनयुद्धका विषयमा ठूलो विवाद रहेकै अवस्थामा फरक धारको राजनीतिक अभ्यास गर्दै आएका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया अन्तिम चरणमा पु¥याउन भने सहमति भएको छ । दुवै पार्टीले एकताको सम्पूर्ण आधार करिब तयार गरेका छन् ।संगठनात्मक स्वरूप तयार भइसकेको र दुवै दलको राजनीतिक दस्तावेज पनि अन्तिम चरणमा पुगे पनि एकता संयोजन समितिको बैठकबाट सबै दस्तावेज सहजै अनुमोदन हुने अवस्था भने कम मात्र रहेको छ । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै एकता गर्ने तयारी भए पनि छलफलका लागि पर्याप्त समय नभएपछि अब कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकता गर्नु उपयुक्त हुने नेताहरूले बताएका छन् । एमाले र माओवादी केन्द्रबीच एकतापछिको पार्टीको केन्द्रीय समिति दुई सय ९९ जनाको रहनेछ । कम्युनिस्ट पार्टीमा केन्द्रीय समितिभित्र पोलिटब्युरो र स्थायी समितिका संरचना राख्ने अभ्यासलाई निरन्तरता दिँदै पोलिटब्युरो ९९ र स्थायी कमिटी ३३ सदस्यीय बनाउने सहमति पनि भएको छ ।
महाधिवेशन आयोजक समितिको नाममा केन्द्रीय संरचना बनाउने र यसमा करिब चार हजार जना सदस्य राखिने भएको छ । माओवादीको हेटौंडा महाधिवेशनले ९९ जनाको केन्द्रीय समितिबाट सदस्यहरू छनोट गर्ने जनाएको छ । प्रदेश कमिटी बढीमा एक सय ५१ सदस्यीय हुनेछ भने पार्टीमा तीन खाले सदस्य रहने सहमति पनि गरिएको छ ।एकताका लागि यसअघि गरिएका सहमतिका तीन दस्तावेजलाई आधार मानिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन निर्माण गर्नुअघि असोजमा ६ बुँदे सहमति भएको थियो । सहमतिअनुसार एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशतको भागबन्डाको आधारमा चुनावी तालमेल गरेका थिए । गठबन्धन निर्माणपछि दुवै दलले संयुक्त चुनावी घोषणापत्र जारी गरेका थिए । गठबन्धन निर्माणको सहमति र घोषणापत्रसमेत आएपछि दुई दलीय गठबन्धनले चुनावमा राम्रो परिणाम ल्याएपनि अहिले आएर माओवादी ५०—५० भागबन्डा खोजेको छ । एमाले र माओवादीमा पार्टीले लिने सिद्धान्तमा पनि सहमति हुन बाँकी छ ।एमालले शान्तिपूर्ण राजनीतिक बाटोबाट माक्र्सवादको नयाँ प्रयोगका रूपमा उसले लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्य र संसदीय राजनीतिक अभ्यासमा मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ लाई आफ्नो मुख्य सिद्धान्त मान्दै आएको छ ।माओवादीले क्रान्ति शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा नभई हिंसात्मक बल प्रयोगबाट सफल हुने विचारबाट प्रेरित माक्र्सवादको प्रयोगका रूपमा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई घोषित रूपमा अपनाउन माओवादी तयार छैन ।
त्यस्तै एमाले पनि माओवादीले भन्दै आएको एक्काईसौं शताब्दीको जनवादलगायतका सिद्धान्तलाई मानेर जाने अवस्थामा छैन । दुवैले अपनाउँदै आएका यी सिद्धान्तलाई कुन बिन्दुमा सहमति गराउने भन्ने विषयमा कार्यदलका सदस्यहरूसमेत अलमलमा परेका छन् । (स्रोत शिखर न्युज)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here