भाद्र ७ काठमाण्डौ | प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा) भित्र विवाद निम्त्याएको छ।
एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत भन्दै जरिवाना तिराउनुपर्नेसम्मको माग गरेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा योगेश ढकालले लेखेका छन्।
प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने भन्दै राजपा प्रदेश २ का सचेतक परमेश्वर साह र राष्ट्रिय सभा सदस्य वृजेश लालले प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने तर्क गरेका हुन् । उनीहरूको कडा मागपछि राजपामा मतभेद झन् बढेको छ।
कतिपय सदस्यले पार्टी संयोजक महन्थ ठाकुरले दोहोरो चरित्र देखाएर जानाजान विवाद जन्माएको आरोप लगाएका छन् ।
केन्द्रमा प्रधानमन्त्री ओलीनिकट रहने र प्रदेशमा पनि आफ्ना सदस्यमार्फत विरोध गर्न लगाउने दोहोरो चरित्र ठाकुरले देखाएको आवाज उठेको छ । प्रधानमन्त्रीको सम्बोधनको विरोध गर्ने लाल र साह दुवै ठाकुरनिकट नेता हुन् ।
राजपामा सांगठनिक गतिविधि शून्य हुने र आन्तरिक निर्णय नेतृत्वबाट एकलौटी भएको भन्दै असन्तुष्टि बढेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनोटदेखि नै नेतृत्वले एकलौटी निर्णय गर्ने गरेको असन्तुष्टि बढेको हो।
राजपा स्रोतका अनुसार प्रदेश २ को मन्त्री र राज्यमन्त्री छनोट, राष्ट्रिय सभा सदस्य छनोट, प्रदेशको सचेतक चयनदेखि प्रतिनिधिसभा संसदीय दलको नेतृत्व चयनसम्ममा एकांकी निर्णय भएको छ । स्रोत नेपाल खबर |