बाढी पहिरोका कारण तीन महिनायता १८ जनाको मृत्यु |

0
840

साउन ३१ काठमाण्डौ | अविरल वर्षासँगै आएको बाढी र पहिरोले यहाँका गाउँमा ठूलो धनजनको क्षति पुर्‍याएकोछ। बाढी र पहिरोको कारण गत तीन महिनायता १८ जनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन्। वर्षासँगै आएको बाढी र पहिरोले बझाङ सदरमुकाम चैनपुर बजार जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

बाढी र पहिरोका कारण यहाँका दुर्गम बस्तीमा जोड्ने करिव तीन दर्जन शाखा सडकहरू अवरुद्ध भएका छन्। ठाउँ-ठाउँमा खसेको पहिरो र बाढीले यहाँका विभिन्न ग्रामीण बस्तीमा रहेका दर्जनौँभन्दा बढी घर टहराहरू पुरिएका छन्। पहिरो खस्दा ढुंगा लागेर, माटोमा पुरिएर, बाढीले बगाउदा, खहरे खोलाले सवारी साधन बगाएको घटनामा परी तीन महिना यहाँ १८ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो। बाहुली खोलामा आएको बाढीले सुर्मादेवी विद्युत प्रालिको नहर बगाउँदा एक सातादेखि सदरमुकाम चैनपुर बजारमा विद्युत अवरुद्ध भएको छ।

विद्युत अवरुद्ध हुँदा सदरमुकाममा रहेका साना तथा मझौला उद्योगहरू बन्द भएका छन भने सदरमुकामबासी अध्यारो मूनी बस्न बाध्य भएका छन्। सदरमुकाम चैनपुर बजार शान्ति मार्गस्थित ढडारमष्टा नामक फर्निचर उद्योग संचालक नारायण धामीले भने, ‘एक सातायता विद्युत बन्द भएकाले फर्निरको कुनै पनि काम गर्न सकिएको छैन।’ उनले विद्युतबिना फर्निचरको काम ठप्प भएपछि कामदारहरूलाई ज्याला दिनसमेत समस्या भएको गुनासो पोखे। वर्षासँगै नदीमा आएको बाढीले २५ भन्दा बढी काठेपुलहरू बगाएको छ भने स्थानीयहरूलाई आवतजावत गर्न निकै समस्या भएको छ।

बाढीले साइपाल गाउँपालिकामा रहेको काँडा खोला र जाडलेख खोलामा रहेको काठेपुल बगाएको छ। सो क्षेत्रमा रहेका काठेपुल बगाउँदा आवतजावत गर्न निकै समस्या भएको साइपाल गाउँपालिका २ का स्थानीय सुरेन्द्र बोहराले जानकारी दिएका छन्। दर्जनौँ ठाउँमा पहिरो खस्दा चैनपुर ताक्लाकोट सडक खण्ड पनि चार दिनदेखि अवरुद्ध भएको छ। सो सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तलकोट र साइपाल गाउँपालिका बासिन्दालाई आवतजावत गर्न निकै समस्या भएको छ। बाउलीखोलामा बाढी आउँदा जयपृथ्वी नगरपालिकास्थित देवल जिउलो सिँचाइ नहरलगायत जिल्लाका करिव १६ वटा साना सिँचाइ नहरहरू बगाएर क्षति पुर्‍याएको छ। बाढीले नहर बगाउँदा सिँचाइ गर्न तथा कपडा धुन कठिनाइ भएको जयपृथ्वी नगरपालिका ९ रिठापाटा गाउँका स्थानीय हर्कबहादुर धामीले जानकारी दिए। बाढीले नदी किनार तथा भिरालो ठाउँमा रहेका अधिकांश खानेपानीका मुहान बगाउँदा खानेपानीको समस्या देखिएको छ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले यहाँका दुई दर्जनभन्दा बढी विद्यालयहरूमा समेत क्षति पुर्‍याएकोछ । सेती नदीमा बाढी आउँदा नदी किनार तथा आसपास क्षेत्रको खेतीयोग्य जमिन समेत बगाएको छ। निरन्तर वर्षा र बाढी पहिरो आइरहदा विभिन्न विकास निर्माणका कामहरु रोकिएका छन्। सेती नदीमा निर्माणाधीन अवस्थामा रहेका झनना, तमैल, पानकोट र देवसैनलगायतका पक्की पुलहरू निर्माण कार्य अवरुद्ध भएको छ। बाहुली खोलामा बाढी आउदा सदरमुकाम जोड्ने एक मात्र झोलुङगे पुल निर्माण कार्य अवरुद्ध भएको छ । वर्षाका कारण बाढी र पहिरोले विकास निर्माणका काम अवरुद्ध भइरको जयपृथवी नगरपालिका ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले बताए।

उनले भने ‘बाढीले जिल्लाकै महत्त्वका ठूला पक्की पुलहरूको निर्माण कार्यमा ढिलाइ भइरहेको छ।’ ठाउँठाउँमा खसेको पहिरोले राष्ट्रिय प्रशारण लाइन विस्तार गरेको विद्युतको पोलहरू लडेका छन्। खहरे खोलामा आएको बाढीले नहर बगाउँदा यहाँका दर्जनौ बढी पानी घट्टहरू समेत अवरुद्ध भएका छन्। बाढी र पहिरोको मात्रा बढेसँगै यहाँका अधिकांश विद्यालयहरु बन्द गरिएका छन्। बाढी र पहिरोका कारण विद्यार्थीहरूलाई आवतजावत गर्न कठिनाइ भएकाले अधिकांश विद्यालयहरु एक साताका लागि बन्द गरिएको हो।

बाढी र पहिरोले ठूलो मात्रामा क्षति गरिरहँदासमेत जिल्लास्थित प्राकृतिक प्रकोप उद्धार समिति, रेडक्रस सोसाइटीलगायतका मानवअधिकार क्षेत्रमा काम गर्ने संघ संगठनहरू भने मौन बसिरहेका छन्। निरन्तर बाढी भइरहेकाले बाढी प्रभावित क्षेत्रको अनुगमन कार्यमा कठिन भएता पनि तथ्यांक संकलन कार्य भने भइरहेको रेडक्रस कार्यालयले जनाएको छ। गत महिना बाढी र पहिरोमा परी ज्यान गुमाएका आफन्तहरूलाई राहत उपलब्ध भइसकेको र राहत पाउन बाँकी भएकाहरूले अब तुरुन्त राहत पाउने जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। समाचार थाहा संवाददाता बाट |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here