भारतको उडिसामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गदै अचेल नाट्य समूह ।

0
998

काठमान्डौ भाद्र १५ । भारतको उडिसामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गदै अचेल नाट्य समूह र पायोनियर पब्लिक स्कुलको प्रस्तुति रहेको नाटक ‘तलेजु’ मञ्चन हुँदैछ ।

अजित अर्यालको परिकल्पना, पटकथा, संवाद र निर्देशन रहेको उक्त नाटक महोत्सवमा सहभागी भएर आएपछि पुनः नेपालमा देखाउने योजना रहेको पायोनियर पब्लिक स्कुलका प्राचार्य राजन श्रेष्ठ बताउँछन् । सहभागीसँगै जान लागेकी स्कुलकी शिक्षिका सुस्मा बुढाथोकी भन्छिन्, “नाटक हेर्दा, साँच्चै त्यही समयमा पुगेकोजस्तो लाग्छ । विद्यार्थी र साथीहरूले एकदम मेहनत गर्नुभएको छ ।”
प्रत्येक वर्ष भारतको उडिसामा हुने महोत्सवमा दुई दर्जनभन्दा धेरै राष्ट्रहरूको सहभागिता रहनेछ । महोत्सवको पहिलो दिन सेप्टेम्बर एकमै नेपालको नाटक ‘तलेजु’ मञ्चन हुनेछ ।

“अरू कथाभन्दा हाम्रै इतिहास किन बोकेर नजाने, कुमारी राख्ने चलन छ । यो त सबैलाई थाहा छ, तर के किन र कसरी कुमारी राख्ने चलन भयो भनेर धेरैलाई थाहा नहुन सक्छ । त्यसैले यो नाटक बनाउन मन लाग्यो,” नाटकका निर्देशक तथा अचेल नाट्य समूहका संस्थापक अध्यक्ष अजित अर्याल बताउँछन् ।

नाटकमा के छ ?

कान्तिपुरका राजा जयप्रकाश मल्ल दयालु, वीर र बहादुर राजा थिए । नुवाकोटमा पृथ्वीनारायण शाहले आक्रमण गर्दा छिमेकी राज्य भएको नाताले राजा जयप्रकाश मल्लले आफ्ना सेनापति काशिराम थापाको नेतृत्वमा केही सेनाहरू सहयोगका लागि पठाउँछन्, तर पनि नुवाकोट गोरखा राज्यसँग हार्छ ।

त्यसको रिसमा जयप्रकाश मल्लले काशिराम थापाको टाउको काटिदिन्छन् । नाटकको सुरुवात यसरी हुन्छ ।

राजाको तपस्याबाट खुसी भएर तलेजु भवानीले वर माग भन्दा राजाले आफ्नो राज्यको सुख, खुसी र साक्षात् तलेजु भवानीको दर्शन गर्न पाऊँ भनी वरदान माग्छन् । यसरी तलेजु भवानी दिनहुँ राजाकोमा आउने र पासा खेल्ने गर्न थाल्छिन् । आफ्नो भक्त खुसी होस्, सुखी होस् र धनी होस् भनेर जानाजान दिनहुँ गहना, मुद्रा, हात्ती र घोडा हार्छिन् ।

तर, राजामा अभिमान चढ्छ र देवीमाथि नै कुदृष्टि लगाउँछ । यो थाहा पाएपछि देवी आउन छाड्छिन् र राज्यमा पानी पर्न छोड्छ, भोकमारी लाग्छ, जनताहरू राज्य छोडेर अन्यत्र जान्छन् ।

यस्तो देखेपछि राजाले यो सबै तलेजु भवानी रिसाएकाले भएको थाहा पाउँछन् र पहिलेको जस्तै तपस्या आरधना गर्न थाल्छन् । तर देवीले आकाशवाणीबाट श्राप दिन्छिन्, “जुन राज्यको राजा भएको अभिमानले तिमीले मलाई कुदृष्टि लगाएको हो त्यो राज्य नै खोसियोस् ।”

तर राजाले आफ्नो राज्य खोसिएकोमा कुनै गुनासो नभएको तर देवीको वास कान्तिपुर राज्यमै होस् भनी माग्छन् । देवी खुसी भई “राज्यमा एक मन्दिर निर्माण गर्नू र एउटी बालिकालाई कुमारी बनाएर त्यो मन्दिरमा स्थापित गराउनू । म त्यही कुमारीको शरीरमा आउनेछु ।

तर जुन दिन तिमीले कुमारीको स्थापना गराउँछौ त्यही दिन तिम्रो राज्य तिमीबाट खोसिनेछ” भनी जान्छिन् । भवानीले भने अनुसार इन्द्रजात्राको दिन राजाले कुमारीको स्थापना गराउँछन् र सोही दिन पृथ्वीनारायण शाहले कान्तिपुरमा आक्रमण गरी राज्य जित्छन् । यसरी नाटकको अन्त्य हुन्छ ।

डेनि मिश्रका र अजित अर्यालको कथा सङ्कलन रहेको यस नाटकमा देवीको भूमिका स्नेहा दाहालले गरेकी छिन् भने राजाको भूमिका डेनी मिश्रले निर्वाह गरेका छन् । त्यसै गरी काशिरामको भूमिका नवराज खड्काले गरेका छन्, सूत्रधार लाखेको भूमिका सागर कान्छोले गरेका छन् ।

त्यसै गरी नाटकमा दीपिका ढुङ्गाना, रोसन कटवाल, सागर मगर र नेत्र मगरको पनि भूमिका छ । स्रोत अनलाइनखबर बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here