महिलाले ब्यासासनमा बसेर पुराण सुनाउन त के शास्त्र पढ्नै हुँदैन भन्ने समाज आजका दुई भागवत बाचक पण्डित दिदीबहिनी ।

0
32

वैदिक युगमा एक महिला पात्र छिन् गार्गी । शास्त्रमा उनको पहिचान ब्रह्मज्ञानी महिलाको छ । ज्ञान र विद्याको प्रतीक अर्की पात्र हुन्– सरस्वती । त्यस युगका सरस्वती र गार्गी कस्ता थिए, आजको समाजका लागि एउटा आत्मिक कल्पना मात्रै हो । तर, अहिले पनि दुई यस्ता दिदीबहिनी छन्, उनीहरु व्यासासनमा बसेर भगवत ग्रन्थ वाचन गर्छन् र संयोगले उनीहरुको नाम पनि सरस्वती र गार्गी नै हो ।

प्राचीन शास्त्रमा व्यास ऋषिलाई जीवन र जगतका अद्भूत ज्ञानीका रुपमा लिइन्छ । उनले जीवन र जगतका लौकिक/अलौकिक रहस्यहरु वाचन गर्दा बस्ने ठाउँलाई व्यासासन भनिन्थ्यो । त्यस्तो व्यासासनमा त्यसै बेलाका गार्गीहरु बस्थे, पुराण प्रवचनहरु सुनाउँथे । तर, आधुनिक समाज व्यवस्था सुरु भएपछि एउटा जबर्जस्त प्रचलन लादियो, महिलाले यस्ता पुराणहरु सुन्नुसमेत हुँदैन ।

नेपाल र भारतका कतिपय स्थानमा पछिल्लो पटक महिलाले व्यासासनमा बसेर भागवत वाचन गरिरहेका छन् । यस्तै दुई पात्र हुन् दिदीबहिनी गार्गी र सरस्वती । उनीहरुले कयौं पटक ब्यासासनमा बसेर श्रीमदभागवत महापुराण, देवी भावगत, बिष्णुपुराण र वाल्मीकी रामायण वाचन गरिसकेका छन् ।

भोटेचौर सिन्धुपाल्चोकका उनीहरुले वाल्यकालमा घरमैबसेर संस्कृत कक्षा लिए । हजुरबुवादेखि बुवाआमा पाणिनीका व्याकरण, रामायण र महाभारका अध्येता थिए । आमाको काखमा लड्खडिएकै बेलादेखि रामायण र महाभारतककाकथा सुन्दै हुर्किए गार्गी र सरस्वती । सँगसँगै उनीहरु स्कूल पनि पढ्थे । कक्षामा पनि सँगसँगै पढेका गार्गी र सरस्वतीका रहर र उद्देश्य पनि साझा नै थिए । पढेर भोलि के बन्ने भन्ने सपना देख्ने नहुँदै दुई दिदीबहिनी खेल्दा पनि पुराण वाचन गर्थे । ‘आज तिमी कथा भन्ने म सुन्ने’भन्दै आलोपालो एक अर्कालाई बाचक र श्रोता बनाएर खेल्थे ।

केटाकेटीमा खेल्दा उनीहरुले पालैपालो पुराण वाचन गरेर मात्रै सुनाएनन्, पछि ठूलो भएपछि पनि पुराण वाचक बन्ने एक अर्काको रहर पनि सुनाए । ‘दिदीबहिनीकै रुची एउटै थियो, कथा भन्ने, त्यसैले हामी वेद, पुराण र महाभारत तथा रामायण जस्ता सवै ग्रन्थहरु आद्योपान्त पढ्न थाल्यौं’ गार्गीले सुनाइन्, ‘व्यासासनमै बसेर पुराण वाचन गर्ने हामी दुई जनाकै रहर थियो ।’ अब उनीहरु अध्ययन गर्ने र पुराण वाचन भएका ठाउँमा गएर वाचन सुन्ने गर्न थाले ।

पण्डितहरुले लगाएका अन्टसन्ट अर्थको पनि उनीहरु परख गर्न सक्ने भए । महिलाले पुराण वाचन गर्नु हुँदैन, अझ सुन्नु पनि हुँदैन भन्ने परम्परालाई चुनौति दिन उनीहरु अग्रसर भए ।

एसएलसी परीक्षा दिएपछि उनीहरु ०५४ सालमा संस्कृतका ठेली बोकेर काठमाडौं आए । संस्कृत भाषालाई वाल्यकालदेखि नै प्राथमिकता दिएर पढेका उनीहरु गुरु खोज्दै बनारस पुगे । बनारसको गुरुकुलमा ३ वर्ष विश्वनाथ सन्यस आश्रममा अध्ययन गरी नेपाल फर्केपछि बुवाले आफन्त र सारा छिमेकी डाकेर घरमै महापुराण लगाए । र, त्यसमा उनीहरु व्यासासनमा बसेर पुराण वाचन गर्ने वाचक भए । त्यसबेला महिलाले ब्यासासनमा बसेर पुराण सुनाउन त के शास्त्र पढ्नै हुँदैन भन्ने समाज थियो ।

‘आपसमा चर्चा हुन्थे, महिलाले शास्त्र पढ्न हुन्न भनिन्छ, यिनीहरुले पढे, केहि त हुन्न नि ?’ गार्गीले त्यसबेलाको अनुभव सुनाउँदै भनिन्, ‘सबैमा त होइन ब्यासासनमा बस्ने कतिपयमा अहिले पनि यस्तो मानसिकता छ ।’ वैदिक शास्त्र महिलाले पढ्न हुँदैन भन्दै छरिएका भ्रम नचिरेसम्म समाज नसुध्रने उनीहरुको निश्कर्ष छ ।

अनि एक कान दुई कान मैदान भयो ल दुई बैनिले पुराण भन्छन् रे भन्दै वाचनको निम्तो आउन थाल्यो । तर बोलाएको ठाउँमा महिलाले बाचन गर्न हुंदैन भनेर अवरोध गर्नेहरु पनि कति कति । गार्गीले शास्त्रको पोका फुकाउँदै भनिन्– ‘बरु शास्त्र भन्छ –भेद दृष्टि भएका,शात्रको गतिलो अध्ययन नभएकाहरु समाजकादैत्य हुन् । जसले शास्त्र स्लोक मात्र पढेको छ त्यसको ब्यावहार छैन उसैले समाजमा यस्तो भ्रम छोडेका छन् ।’

बैनी सरस्वतीले थपिन्– यस्तो रुढ ब्याख्या गर्नेबाट खोसेर शास्त्रलाई ब्यावहारमा ल्याउने युवाहरुलाई यस्तो काम सुम्पन जरुरी छ ।’

समस्त पण्डित जगतमा एउटा प्रवृत्ति छ, एउटा वाचकले अर्काे वाचकको ज्ञानमाथि प्रश्न गर्दै टिकाटिप्पणी गर्ने । अझ महिला वाचक देखेपछि उनीहरुलाई यिनीहरुले पनि पढेहोलान्र जस्तो गर्ने धेरै थिए । कति पटक अगाडि नै आएर कहाँबाट पढेर आयौ भनेर सोध्ने, कति ठाउँमा त पढेको भयो या भएन भनेर आगाडी नै बसेर जाँच गरेको अनुभव छ उनीहरुको ।

ब्यासासनमै बसेको बेला पनि कत्तिको जान्ने छन् भनेर जाँच्न आउने गरेका घटना सम्झदै सरस्वती भन्छिन् –‘भक्तपुरको बागेश्वरीमा पुराणवाचन गर्दै थियौं । हाम्रो जाँच गर्न एकजना पौडेल थरका बृद्ध पण्डितलाई खटाइएको रहेछ । हामीले एउटा शब्द पनि तलमाथि नगरी अद्योपान्तवाचन ग¥यौं । तर, ती पण्डितले कितावको पाना समेत पल्ट्याउन भ्याएनन्, हामीले वाचन गर्दा । उनले हामीले कहाँ पुर्यायांै पत्तोसम्म पाएनन् । परीक्षा लिन आउनेहरु नै लौ सकेनांै तपाईहरुलाई नै जिम्मा लगायौं भनेर ढोगेर हिँडे ।’

वेद पुराण अध्ययन र वाचनमा महिला सहभागी हुनु हुँदैन भन्ने अज्ञानी मानिसले धेरै लामो समयसम्म समाजको नेतृत्व गरेको उनीहरु बताउँछन् । ‘हामी त्यसको शिकार भएछौं भनेर दुःख लाग्छ’ गार्गी भन्छिन्, ‘हिजो यति भन्दिने पनि कोहि थिएन । तर आज समाज फेरिइसकेको छ ।’उनका अनुसार अहिले व्यासासनमा बसेर पुराण वाचन गर्ने महिलाको संख्या धेरै पुगिसकेको छ ।

उनीहरुमाथि लैंगिक संशय गर्ने अर्काे समस्या छ, त्यो हो महिनावारी । महिनावारीबारे खुब चासो राख्छन् अधिकांशले । इन्द्रीयलाई नै जितेर विवाह नै नगर्ने प्रण गरेर ब्यासासनमा बसेका उनीहरुलाई पूजाका बेला मात्रै होइन अरुबेला पनि महिनावारी भयो भने के गर्छाै भन्ने प्रश्न आइरहन्छन् । यस्ता प्रश्न नेवार वा अन्य समुदायले नभएर बाहुन र अझ महिलाले नै बढी गर्ने गर्छन् ।

उनीहरुकी गुरुआमा प्रियंवादाम्बा काफ्ले, जो बाल्मिकी विद्यापिठकी उपप्रध्यापक हुन् । एकपटक गार्गी र सरस्वती तनहुँमा पुराण वाचनका लागि गए । पछि थाहा भयो त्यो गुरुआमाको गाउँ रहेछ । गुरुआमालाई पछि भेट्दा धन्यवाद दिंदै भनिछन्– ‘स्यावास तिमीहरुलाई, मेरो गाउँको अन्धकार चिर्‍यौ । मैले गर्न नसकेको काम गर्‍यौ ।’
पुराण विषय अध्यापन गराउने गुरुआमा पनि समाजमा आफ्नो उपस्थिति राख्न नसकेको अवस्थामा आफ्नो काम र गुरुआमाको गाउँको प्रसंग सुनाउँदा गार्गी खुब उत्साहित देखिन्थिन् ।

कुनैबेला गार्गी र सरस्वतीलाई आमाले भनेकी रहिछन्– पढेरमात्र हुन्न, घर सम्हाल्न सिक्नुपर्छ ।’ आमाले यसो भन्दा पुराण वाचन गर्ने आफूहरुको चाहना पाप हो कि झैं लाग्थ्यो उनीहरुलाई । ‘छोरी भएर पढेर के हुन्छ ? यस्तो सुन्दा कहिलेकाहिँ त लाग्थ्यो पुराणमा चर्चा हुने पापीजस्तै रहेछ महिला हुनु’ सरस्वतीले सम्झिन्, ‘तर, आज हामी समाजको त्यस्तो पर्दा उघारेर माथि आइसक्यौं ।’

समाजमा धेरै परिर्वतन भए पनि महिलाले वाचन गरेको पचाउनै नसक्नेहरु अझै भएको उनीहरुको अनुभव छ । पुरुषहरुसँगै रहँदा राम्रो नठान्ने, वाचनको योग्यतामाथि प्रश्न उठाउने जस्ता कुरा हुन्छन् । त्यसैले कतिपय ठाउँमा यस्तो समस्या आउँदा गणेश (टीका लगाइदिने बाहुन) पनि महिला, भजन टोलीमापनि महिला र वाचनमा आफू बसेर पनि पुराण सुनाए ।‘हामी पुराण लगाउँदा होस् या अन्य वाचनमा एक लाइन पनि कतै नछोडी आफ्ना स्वादका कुरा नलगाइकन शास्त्रमा भनिएका कुरा जस्ताको तस्तै श्रवण गराउँछौं’ गार्गीले भनिन्, ‘अब पढेर जित्न नसकिने रहेछ भन्ने जानेपछि यिनीहरु रजस्वला हुन्छन्, त्यो बेलामा पढ्छन् कि भन्ने कुरा उठाउँछन् ।’

यी दिदीबहिनीले कार्यक्षेत्र मात्र हैन जीवनका निर्णयपनि साझा बनाएका छन् । त्यो हो उनीहरुको बिहे नगर्ने योजना । ‘हामी बिहे गर्दैनौं, समाजको समविकासमा आफूलाई समर्पण गर्ने साझा संकल्प लिएका छौं’ सरस्वतीले भनिन् । त्यसैले उनीहरुले एकल बस्न चाहनेहरुलाई विवाह योगबाट मुक्त गराउन विभिन्न ठाउँमा संयुक्त वेल विवाह पनि गराउँदै आएका छन् । उनीहरु भन्छन् –अहिले धेरै महिलाहरु समाजिक बन्धन भन्दा माथि उठेर प्रकृतिको साथमा, अध्ययनमा रमाउन चाहन्छन् ।

तर, उनीहरुलाई समाजका कतिपय मान्यता बाधाका रुपमा तेर्सिन्छन् । कत्ति एकल बस्न चाहनुहुन्छ, तर विवाह योगको दोषको त्रास बाँकी रहन्छ । हामी उहाँहरुलाई बेल विवाह गराएर सोचाइको फरक विन्दुमा पुग्न सहयोग पनि गरिहेका छौं ।’स्रोत अनलाइनखबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here