माग्न नहिंड भन्छन, मेरो मनै मान्दैन।’म भिखारी हाेइन : बलराम, |

0
838

भाद्र ७ काठमाण्डौ | गाउँघरमा अलि धेरै गाइने गीतलाई सारंगीको धुनले पाइन हालेर गाउँदै थिए बलराम गन्धर्व। बजारमा नयाँ निस्किएको म्युजिकलाई गाउँगाउँमा लगेर पस्किनु बलरामको पुर्ख्यौली पेशा हो। गन्धर्वको जातीय धर्म पनि हो। त्यसैले ढाका टोपी गजुर मान्ने बलराम उनको गायन कलासँगै पवित्र मन्दिरको आस्थाको रूपमा आफूलाई स्वीकार गर्न चाहन्छन्। शिरमा ढाका टोपी, दायाँ र बाँयातिर सारंगी र झोला बलरामको पुर्ख्यौली विशेषता हो।

जहाँ गए नि यो दु:खी मलाई पीर, कहाँ बसेर कहाँ खाने मन छैन थिर,
उडी गयो रानी चरी तिरीमिरी छायाँ, जस्तो तिमीलाई पानी तिर्खा, तस्तै मलाई माया।

माया भन्ने चहर्‍याउने घाउ रैछ, बैगुनीले झुक्याउने दाउ रैछ …फुल्यो बामरी … बामरी …बामरी …म भोलि गइहाल्छु। बस रामरी।
गन्तव्यलाई एकछिन् पर्खाएर बटुवाहरू गाइने दाइको गीत सुन्दै थिए। गाइने दाइको गीत सुनेर पैदलयात्रीहरूको पाइलाहरू रोकिएका थिए। आजभोलि गाइने गाउँ र घरहरूमा डुल्न छोडेको गुनासो बेसीशहरका कुमार अधिकारीले गुनासो गरे। हुन पनि अहिले गाउँघरमा गाइनेको गीत शून्य भएको छ। तर कहिले काहिँ बेसीशहर क्षेत्रमा सारंगीसँगै गीत केवल बलरामको नै बज्छ।

गाइने जातिले बजाई हिँड्ने बाजा सारंगी बलरामको साक्षी हो। बलरामको पनि गन्धर्व पेशाप्रति आफ्नै धारण छ,‘बाल्य कालमा बुबाको पछि लागेर हिड्थेँ। स्वर्गीय बुबा पृथ्वीराम गन्धर्वको गीत गाउँघरमा सुन्थे। मानिसले खुव मन पराएर चामल र पैसा दिन्थे।’

बलरामले भने, ‘पढलेख केही भएन।कहीँ कतै पनि जान सकिन र मैले पनि बुबाको बिँडो थामेँ।’ जनमानसले गाइनेको गीतलाई चासोको विषय बनाएपछि बलरामले फेरि गीतमै थपे।

कता गयो गीत गाउने गाइने दाइ? सुख दु:ख विरहमा चाहिनेलाई। चिन्नीलाई त श्रीखण्ड, नचिन्नीलाई काठ, बाह्रखरी नपढ्नेले कहिले गर्ने पाठ? सिपालुलाई कलम-मसी, मखण्डीलाई खरी, जन्मेपछि मर्नुपर्ने, काेही छैन अजम्बरी।
जहाँ गए नि खोलीमा बगर, छुट्यो माया होहल्ला नगर … फूल्यो बामरी … बामरी … बामरी … म भोलि गइहाल्छु, बस रामरी। नेपाली लोकभाकामा बलराम गन्धर्वले घरघरमा गीत सुनाउँदै चहारी दिए। घरबेटीले दान गरेको चामल,पैसा बलराम गन्धर्वले ग्रहण गर्दै गए। मुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घर-घर र गाउँ-गाउँ घुम्दै पेशागत रूपमा गीत गाएर जीविका गर्ने एक जातिको रुपमा गन्धर्व जाति भएको कारण पनि मागी खान सहज छ बलरामलाई।

कसैले त काम गर्न दुःख भएर गाइने भएको भनेर पनि गाली गर्ने गरेको बलरामको दुखेसो रहेको छ। तर बलराम आफ्नो पुर्ख्यौली पेशाप्रति गर्व गर्छन्। गाउँ-गाउँमा नयाँ समाचारलाई गीतमार्फत व्यक्त गर्दछन्। यसैमा उनको जीविका चलेको छ। गीत गाउँदै र सारंगी बजाएर दैनिक ५०० देखि एक हजार रुपैयाँसम्म कमाई गर्छन्।
अरु बेला खेतीपातीमा व्यस्त रहने बलराम घरमा रमाग्न नहिड्न भन्छन्। त खेतमा काम नभएको बेलामा सारंगी लिएर घुम्न हिड्छन्। लमजुङको सीमा जोडिएको जिल्ला तनहुँको भानु नगरपालिका-१० दुधेकुना साविक चोक चिसापानी निवासी बलराम गन्धर्व अहिले ६२ वर्षका भए। उनको गायनको विशेष कार्य क्षेत्र तनहुँ र लमजुङ जिल्ला पायक पर्ने जिल्ला हो।
ख्याउटे बलराम गन्धर्वले भने,‘अब त आउन पनि सक्दिन होला। बुढो भएँ। बाउ-बाजेले गरेको पेशालाई अहिलेसम्म बिँडो थामेको छु।’ २०२८ सालमा ५८ वर्षको उमेरमा पिता पृथ्बीराम गन्धर्वको देहवसान भएपछि पारिवारिक बोझ बलराम गन्धर्वमाथि पर्न गयो। गीत गाएर नै उनले दुईछोरा र दुईछोरी हुर्काए। अहिले कान्छा छोरा र छोरी काठमाडौंमा पढ्दै जागिर खान्छन्। जेठो छोरा घरमा र जेठी छोरीको बिवाह भयो। ‘छोराछोरीले र
माग्न नहिंड भन्छन, मेरो मनै मान्दैन।’ बलरामले भने, ‘म भिखारी हाेइन।
कला र गलाले गरी खान हुन्छ। आफ्नो जातीय संस्कार पनि बचाई राख्नु पर्‍यो।’ अहिले बलरामलाई अर्को चिन्ता थपिएको छ। छोराहरूले सारंगी बजाउन पनि सिकेनन्। पुर्ख्यौली पेशालाई आफ्नो शेषपछि थाम्ने कुनै सन्तानले रहर पनि गरेनन्। अहिलेको इन्टरनेटको दुनियाँले गन्धर्व पेशा विस्थापित गराएको छ। पहिले पहिले देश विदेशको समाचार थाहा पाउन पनि गाइनेले गाउँगाउँमा गीत गाएपछि मात्र थाहा हुन्थ्यो।

तर अहिले मिनेट भरमा दुनियाँको कुरा थाहा पाइने भएपछि गन्धर्व पेशाप्रति भावी सन्ततिको चासो हराउन थालेको हो। बलराम गन्धर्व भन्छन्, ‘गाउँमा अव हामी तीन जना मात्र सारंगी लिएर गीत गाउँदै पुर्ख्यौली पेशालाई थामेका छौं।’ हुन पनि अहिलेका युवा पिँडीले गन्धर्वको पेशालाई चासो नै दिदैनन्। उनीहरू सरम मान्छन्। बलरामको दुधेकुना गाउँमा आफूसहित ६६ वर्षका बीरबहादुर गन्धर्व र ४९ वर्षका कृष्णबहादुर गन्धर्व मात्र जातीय पेशामा रहेका छन्।
गाउँमा कसैले पनि सारंगी बजाउन सिकेनन्।

उनीहरूको शेषपछि दुधेकुना गाउँमा गन्धर्व जाति रहे पनि जातीय पेशा नरहने पक्का छ। यो संकट संस्कार र संस्कृतिप्रति भएको लाज मर्दो बिद्रोह पनि हो। यसले गर्दा उनीहरूको पहिचान पनि विस्तारै मेटिदै जाने तथ्य पनि पक्का छ। त्यसैले संबन्धित निकाय र सरोकारवालाले पनि समयमा नै पहिचान मेटिन दिनबाट बचाउ गर्न जरुरी देखिन्छ। २०६८ सालको जनगणना अनुसार नेपालमा लगभग ३१ हजार गन्धर्व जाति रहेको छ।
गन्धर्व जाति लमजुङको राइनास, सिख्रा, गोरखाको ठिमुरे स्वाँरा, तनहुँको दुधेकुना, बन्दीपुर, कास्कीको बाटुलेचौर, डाँडाअर्चले, चितवनको ठोरी, दाङको घोराही, अर्घाखाँची, पाल्पालगायत स्थानमा रहेको पाइन्छ।

चार जात छत्तीस वर्णको साझा फूलबारीको रुपमा रहेको नेपालको विभिन्न जातजातिहरूको संस्कार र संस्कृतिले मात्र मुलुकको अस्तित्व रहन सक्छ। त्यसैले यस्ता जातिहरूका लोपोन्मुख कला र संस्कृतिको जगेर्ना बेलैमा हुन नसकेमा यसको असर पूरै मुलुकलाई नै पर्ने देखिन्छ। कृष्ण आले पत्रकार आले थाहाखबरका लमजुङ संवाददाता हुन्। स्रोत thahakhabar .com | कृष्ण आले थाहा सम्बादाता लमजुङ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here