र्‍याली अनियन्त्रित भएर तोडफोड, आगलागीमा संलग्न भएपछि कर्फ्यू

0
1675

झापा, १० कात्तिक । बेपत्ता किशोर मृत फेला परेको विषयलाई लिएर भएको प्रदर्शन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले झापाको विर्तामोडमा अनिश्चितकालीन ‘कर्फ्यू’ जारी गरेको छ ।

मृत फेला परेका अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्या भएको र दोषिलाई कारबाही नगरेको भन्दै मृतकका आफन्त तथा स्थानीयले निकालिएको र्‍याली उग्र भएको बताउँदै स्थानीय प्रशासनले शुक्रबार दिउँसो साढे एक बजेदेखि अनिश्चितकालीन् कर्फ्यू जारी गरेको हो ।

प्रशासनकाअनुसार बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

र्‍याली अनियन्त्रित भएर तोडफोड, आगलागीमा संलग्न भएपछि कर्फ्यू लगाइएको जानकारी दिएका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले अर्को सूचना जारी नहुञ्जेल कर्फ्यू रहने बताए ।प्रदर्शनकारी र सुरक्षाकर्मीबीच अहिले पनि झडप भइरहेको छ । प्रदर्शनका क्रममा गोली लागेर नरेश थापा र अर्का एकजनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको निजी गाडी तथा बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी तोडफोड गरेका छन् भने मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत जलाइदिएका छन् ।

गएको असोज १४ गते बेपत्ता भएको लक्ष्मण भोलिपल्ट मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै आफन्तहरु दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here