सिड्नी र क्यानबेरामा बाआमाहरूको वनभोज |

0
240

सिड्नी- ३० मार्च २०१९ तारिख शनिबार, एक त छुट्टीको दिन त्यसमाथि बिहानीपख झरी परिरहेको आवाज झ्यालबाट कानसम्म पर्दा बिस्तराबाट उठ्न पनि मन लागिरहेको थिएन। एक मनले सोचेँ– ‘ह्या, सुत्नुपर्छ मजासँग यस्तो झरीमा को उठोस्।’

फेरि अर्को मनले भन्यो– ‘नेपालबाट त्यत्रा बाआमाहरू झरी नभनिकन पिकनिक मनाउन निस्केका छन्। किन यस्तो अल्छी गर्छस्?’ त्यसपछि बल्ल उठेर पानीको वास्ता नगरिकन लाग्ने निधो गरेँ, फिजरोय फल्स जहाँ नेपालबाट अस्ट्रेलिया घुम्न आएका करिब सात सय अभिभावकहरू एक ठाउँमा जम्मा भएर वनभोज मनाउने कार्यक्रम निश्चित गरिएको थियो।

सिड्नी र क्यानबेराको बीचतिर पर्ने फिजरोय फल्स पुग्न गाडीमा करिब डेढ घण्टा जतिको यात्रा रहेको तथ्य थाहा पाएपछि करिब दस बजे घरबाट एकजना मित्रसँगै निस्किने तयारी भयो र हामी दुईजना हिँड्यौ नेपालबाट कंगारूको देशमा आएका बाआमाहरूसँग वनभोज गर्न, भलाकुसारी गर्न र रमाइलो गर्न। सिड्नीको सडकमा शनिबार र आइतबार प्रायः गाडीहरू पातला देखिन्छन्, त्यसैले ट्राफिकको समस्या खासै झेल्नु पर्दैन।

सिड्नीको केन्द्रबाट जति टाढा गयो उति नै वस्तीहरू पातलिँदै जान्छ। हामी पनि केही गाउँ, वस्तीलाई छिचोल्दै लाग्यौ आफ्नो गन्तव्यतिर अर्थात् फिजरोय फल्सतिर।घरनजिकैका बाक्ला वस्तीहरूलाई पार गर्दै दक्षिणपश्चिम दिशातिर हिँडेको करिब १५ किलोमिटर पछि मुख्य सडक ह्युम हाइवेमा पुगियो।

यो फराकिलो हाइवेमा करिब ११० किलोमिटर प्रति घण्टाको रफ्तारमा हुँइकिएर बाटोको दायाँबायाँ देखिने फाँटहरू, गाईवस्तु, हरियाली आदिले मन खुब लोभ्याउने गर्दछ। सिड्नीलाई क्यानबेरासँग जोड्ने यो सडकले जति अस्ट्रेलियाको विकासको नमूना पेश गर्दछ त्यति नै यस सडकमा सवार भएर यात्रा गर्नेहरूको मन पनि जित्ने गर्दछ। कुनै पनि देशको विकासमा सडकको भूमिका कस्तो रहन्छ भन्ने दृष्टान्त यो सडकले पेश गरेको छ।

सिड्नीदेखि क्यानबेरा जोड्ने करिब २ सय ७० किलोमिटरको यो सडक पार गर्न गाडीमा केवल तीन घण्टा मात्रै लाग्दछ। हामी पनि यही सडकको दायाँबायाँ फेरिरहने छायाँछविहरूलाई नियाल्दै ८० किलोमिटरको ह्युम हाइवेको यात्रामा मुग्ध हुँदै अगाडि बढ्यौँ। जीवनमा कैयौँपटक मैले यही बाटोको यात्राका क्रममा नेपालमा यस्तै बाटो मात्रै भइदिएको भए हामी कति सम्पन्न हुने थियौँ भनेर कल्पना गरेको छु।

ह्युम हाइवे।
ह्युम हाइवेबाट बाहिर निस्केपछि करिब ३५ किलोमिटर ठूला/साना सडकहरूलाई छिचोल्दै, हरियाली रूखहरू, ससाना पहाडका मनोरम दृश्यलाई पार गर्दै हामी पनि त्यही ठाउँमा पुग्यौँ जहाँ नेपालबाट आएका विशेष गरी सिड्नी र क्यानबेरामा बस्ने बाआमाहरू जम्मा भएर वनभोज गरिरहेका थिए।

करिब सात सय अभिभावकहरूको जम्काभेट भएको यो स्थलमा पुग्दा मलाई नेपालतिर कुनै ठाउँमा पुगिरहेको अनुभूति भइरहेको थियो। एक हुल अभिभावकहरू ठूला स्वरमा बजिरहेको नेपाली लोक गीत “सालको पात टपरी हुनी…” को धुनमा नाचिरहेका देखिन्थे, कोही पार्कतिर बस्नका लागि बनाइएका कुर्सीहरूमा यत्रयत्र थकान मारिरहेका देखिन्थे त कोही झुण्ड झुण्ड बनाएर एकआपसमा गफिएर बसिरहेका देखिन्थे। जे होस् आजको दिनमा सबैजना नेपालीहरूसँग भेट भएकोमा फुरूङ्ग देखिन्थे र मस्तसँग रमाइलो गरी दिन बिताउनेतर्फ केन्द्रित थिए।

दुई दिनअघि मात्र सिड्नीमा आएकी चितवन मङ्गलपुर निवासी सीताकुमारी पौडेल हुन् वा पाँचौपटक आएका चितवनकै रमेश श्रेष्ठ नै किन नहुन्, सबैजना वनभोजमा आएर नेपालीहरूसँग भेटघाट गरेर रमाइलो गर्न पाएकोमा निकै हर्षित देखिन्थे। प्रवासी भूमिमा नेपालीहरू यति धेरै सङ्ख्यामा त्यो पनि एउटै स्थलमा वनभोज गर्न पाइएला भनेर नसोचेको बताउने उनीहरूले यस्तो अद्भूत अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद पनि दिए। कुराकानीका क्रममा रमेश श्रेष्ठले भने – ‘नेपालबाट यहाँ आएका सबै साथीभाइसँग भेट हुने यस्तो अद्भूत मौका पाइन्छ भनेर मैले कल्पना गरेको थिइनँ।

यसका लागि आयोजक एनआरएनएलाई धन्यवाद दिनैपर्दछ।’एनआरएनए अस्ट्रेलियाले सन् २०१५ देखि नियमित रूपमा आयोजना गर्दै आएको अभिभावक वनभोज कार्यक्रम यसपल्ट चौँथोपटक आयोजना गरिएको थियो। एनआरएनए अस्ट्रेलिया न्यूसाउथवेल्स तथा क्यानबेरा स्टेट कोअर्डिनेसन कमिटीको संयुक्त आयोजनामा आयोजित यस वनभोज कार्यक्रममा सिड्नी तथा क्यानबेरा वरपरका नेपाली अभिभावकहरू सामेल थिए । सिड्नीका विभिन्न सबर्बहरूबाट ११ वटा बसमा तथा क्यानबेराबाट एउटा गरी जम्मा १२ वटा बसमा अभिभावकहरू वनभोज स्थलमा जम्मा भएका थिए।

सिड्नीबाट शुरुवात गरिएको यो वनभोज कार्यक्रमलाई मेलबर्न, ब्रिसबेन र पर्थमा पनि शुरु गरिएको छ।अभिभावकहरूलाई एनआरएनएसँग जोड्ने, प्रवासमा बसेको नेपालीहरूलाई अभिभावकहरूको अनुभवबाट केही कुरा सिकाउँदै आफ्नो मौलिक कला, संस्कृति र परम्परा विदेशका बसेका दोश्रो पुस्तालाई हस्तान्तरण गर्ने मुख्य उद्देश्य आयोजना गरिएको यस वनभोज कार्यक्रम आफ्नो उद्देश्यप्राप्तिमा निकै फलदायी रहेको एनआरएनए अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए।
देशसञ्चारसँग कुरा गर्दै उनले भने – ‘अभिभावकहरूलाई सम्मान, मनोरञ्जन र एक दिन भए पनि भेटघाट गरेर प्रवासी भूमिमा नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यो वनभोज कार्यक्रमले प्रमुख भूमिका खेलेको छ । अभिभावकहरूका कुरा सुनेर हामी प्रवासी नेपालीले धेरै कुरा आत्मसात गर्दै अगाडि बढ्न पाउनु हाम्रा लागि निकै सम्मानको कुरा पनि हो।’एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लुका स्टेट कोअर्डिनेटर नन्द गुरुङले कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिताले यो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै अझ यसको दायरा फराकिलो पार्न हौसला दिएको बताए।

उनले भने – ‘अभिभावकहरूलाई एकै ठाउँमा जम्मा गरेर वनभोज कार्यक्रममार्फत् रमाइलो गर्दै पहिलो र दोश्रो पुस्ताका प्रवासी नेपालीलाई आफ्नो मूलसँग परिचित हुने र बुझ्ने अवसर पनि प्रदान गरेको छ।’

वनभोजका क्रममा आयोजित स्वास्थ्य शिविर।
विगत चार वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आइरहेको अभिभावक पिकनिक कार्यक्रम यो वर्ष पनि निकै रमाइलोपूर्वक समापन भएको वनभोज कार्यक्रमका संयोजक दिल तामाङले बताए। कार्यक्रममा एनआरएनएका विभिन्न सदस्यहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली समाजका चिरपरिचित व्यक्तित्वहरूको उपस्थिति थियो।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङको सभापतित्वमा शुरु भएको औपचारिक कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका संरक्षक इन्द्रा वन विशेष अतिथि तथा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा क्यानबेरा कोर्डिनेटर राजन ढुङ्गेल अतिथिका रूपमा उपस्थित थिए भने एनआरएनए अस्ट्रेलिया न्युसाउथवेल्सका उपसंयोजक अर्जुन केसीले शुभकामना मन्तव्य राखेका थिए।वनभोज कार्यक्रममा नाँचगान, राफल चिट्ठा, कविता वाचन, गीत गायन, भजन कीर्तनका साथै अभिभावकहरूले आफ्ना अनुभवहरू सुनाएका थिए।

९० सालको भूकम्पका कथादेखि लिएर तेल भिसाका कुरासम्म अभिभावकले गर्न भ्याएका थिए। उनीहरू भन्दै थिए– ‘हामीलाई मोबाइल, कम्प्युटरहरू अस्ट्रेलियाबाट नेपाल पठाउनुभन्दा पनि वर्षमा एकपल्ट आफै नेपाल आइदिने गरेमा हामीलाई निकै खुशी लाग्थ्यो। सामान, पैसाभन्दा पनि आफन्तसँग केही पल बिताउन पाउनु हाम्रा लागि निकै खुशीको कुरा हुने थियो।’कार्यक्रममा अभिभावकहरूलाई निःशुल्क रूपमा स्वास्थ्य जाँच गर्नका लागि शिविर पनि राखिएको थियो। शिविरमा अभिभावकहरूले ब्लड प्रेसर, सुगर लगायतका जाँचहरू गरेका थिए।

बिहान ७ बजे सिड्नी र क्यानबेराका विभिन्न सबर्बहरूबाट फिजरोय फल्स पुगेका अभिभावकहरू साँझको ५ बजे घरतिर प्रस्थान गर्नका लागि निस्किँदा सम्म निकै हर्षित र प्रफुल्लित मुद्रामा देखिन्थे। हर्षित मुद्रामा दिन बिताएका अभिभावकहरूले प्रवासी नेपालीलाई एउटा गतिलो सन्देश दिने प्रयत्न भने गरिरहेका थिए– ‘आफ्नो मूल कहिल्यै नबिर्सनू।

आखिर संसारको जुनसुकै कुनाकाप्चामा पुगे पनि जन्म दिने बाबुआमा र मातृभूमिलाई कसैले बिर्सनु हुन्न।’यही सन्देशको गहनताभित्र डुब्दै हामी पनि त्यस ठाउँबाट घरतर्फको यात्रामा निस्किएका थियौँ। फर्किंदा भने यात्रामा देखिएका दृश्यहरूलाई मैले धेरै बेरसम्म नेपालका तस्वीरहरूसँग मनमनै तुलना गरिरहेँ र धेरैबेर मातृभूमिको सम्झनामा अल्झिरहेँ। स्रोत देशसंचार |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here