कार्तिक ५ काठमाण्डौ | सुनसरीमा गोली हानेर एक शिक्षकको हत्या भएको घटना सेलाउन नपाउँदै बुधबार बिहानै फेरि एक व्यवसायीको हत्या भएको छ। सुनसरीको दुहबी-९ मा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको बुधबार बिहानै गोली हानी हत्या भएकाे हो।
मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा ५४ वर्षीय हुसेनमाथि गोली चलाएका थिए। गम्भीर घाइते भएका हुसेनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गोली कसले र किन चलाएको खुल्न सकेको छैन। गोली चलाएर ती दुई व्यक्ति दक्षितिर भागेको स्थानीय बासिन्दाले बताएका छन्। यसैबीच हत्यारालाई कारबाही माग गर्दै स्थानीय बासिन्दाले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। यसअघि सुनसरीकै हरिनगरा-२ मा शिक्षक खुर्सिद आलमको गोली हानी हत्या भएको थियो। अझै उनको हत्यारा पत्ता लाग्न सकेको छैन।
स्रोत नेपालखबर |