ब्युटी विथ ब्रेन तेस्रोलिंगी ज्योतिको संघर्ष

0
883

३५ वर्षअघि भक्तपुर, सिपाडोलमा एक शिशुको जन्म भयो । अभिभावकले नाम राखे– कृष्ण थापा । परिवारको कान्छो सन्तानका रूपमा जन्मिएका कृष्णले धेरै माया पाए । सबैले कान्छो छोरो भनेर पुलपुल्याए । निकै स्नहेका साथ पालनपोषण हुँदै गयो, कृष्णको ।

गाउँको शान्ति निकेतनबाट अध्ययन सुरु भयो, उनको । केटाहरूसँगै हिँड्ने, खेल्ने कृष्ण जब सात कक्षामा पुगे, त्यसपछि उनीमाथि प्रश्न उठ्न थाल्यो । केटो भएर पनि यो केटोजस्तो छैन । केटामा हुनुपर्ने कुनै बानी, व्यवहार र स्वभाव पनि छैन । सबैले यस्तै कुरा गर्न थालेपछि कृष्ण पिरोलिन थाले ।

केटाहरू ग्रुप बनाएर फुटबल खेल्ने । तर, कृष्णलाई भने केटीहरूसँग बस्न, खेल्न, रमाउन मन पथ्र्यो । धेरैजसो उनी केटीहरूकै वरपर हुन थाले । केटीको झैँ बानी व्यबहार अनि केटीहरूकै सर्कलमै रमाउन थालेपछि साथीभाइले उनलाई जिस्क्याउने क्रम पनि बढ्दै गयो । शिक्षकहरूले नै यो केटा हो कि केटी हो ? यसको पाइन्ट खोलेर हेर्नुपर्छ, भन्न थाले । त्यसपछि उनको मनमा कतिवेला आफ्नो पाइन्ट खोलेर हेर्छन् भन्ने अर्काे त्रास थपियो । त्यसकारण उनी हत्तपत्त शिक्षकहरूको अघि पर्न नपरोस् भन्नेमा लाग्न थाले ।

०००
परिवार र समाजको नजरमा छोरा थिए, कृष्ण । तर, उनी आफूलाई भने कहिल्यै पनि केटाजस्तो हुन मन लागेन । न त केटाहरूको सामीप्य नै प्यारो लाग्यो । उनलाई घरको काम गर्न, दिदीहरूको कपाल कोरिदिन, केटीहरूसँग खेल्न,कुरा गर्न, केटीकै लुगा लगाउन तथा लेडिज ब्याग बोक्न मन पथ्र्याे । आफूमा रहेको अनौठो बानी र विशेषताले उनी आफैँ अचम्ममा परेका थिए । स्कुलमा साथीभाइ र शिक्षकले गर्ने व्यवहारले उनमा पीडा थपिँदै गइरहेको थियो । कृष्णको बानी व्यहोरा र रुचिप्रति उनको परिवार पनि चकित परिरहेको थियो । बच्चै भएकाले ठूलो भएपछि सबै कुरा ठीक हुने विश्वास थियो । सात कक्षा पास गरेर गाउँको स्कुल छाडी भक्तपुरको शारदा माध्यमिक विद्यालयमा पढ्न गए, उनी । नौ कक्षामा पुग्दासम्म स्कुलका शिक्षक तथा साथीभाइले उनलाई अति नै जिस्क्याउन थाले । त्यसले उनमा तनाव झनै थपिँदै गयो । तनावका कारण उनी डिप्रेसनमा समेत परेँ । तर, पनि सबै कुरा सहनुको विकल्प थिएन ।

म किन यस्तो भएँ ? भन्ने प्रश्न आफैँभित्र गुम्स्याइरहे, उनले । तर, आफू अरूभन्दा फरक छु भन्ने महसुस भने उनलाई भइसकेको थियो । देख्दा केटाको स्वरूप भए पनि उनी केटाप्रति नै आकर्षित हुन्थे । केटीहरू त साथीजस्ता मात्र लाग्थ्यो उनलाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here