गफिँदागफिँदै गीत लेख्न सक्नुहुन्थ्यो कुसुम गजमेर

0
1036

अब सम्झनामा गीतकार कुसुम गजमेर –

चर्चित श्रीमान्का श्रीमतीहरू क्षमता भएर पनि ओझेलमा परेका उदाहरण धेरै छन् । तर, कुसुम गजमेर कहिल्यै श्रीमान्को ओझेलमा परिनन् । जुन गीत लेखिन्, उही चर्चित बन्यो । वरिष्ठ संगीतकार रञ्जित गजमेरकी श्रीमती बनेर उनले नाम बिकाउनुपरेन । आफ्नै गीतका शब्दले ‘कुसुम गजमेर’ नाम स्थापित भयो । ‘रेली खोला बगर’ होस् या ‘मोहनी लाग्ला है’, सधैँ सबैको कण्ठमा झुन्डिन सक्ने गीतका रूपमा स्थापित भए । ‘दुईपाते सुइरो’, ‘उकालीमा पछिपछि ओरालीमा अघिअघि’, ‘के सोचेँ मैले के भयो अहिले’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘नयाँ–नयाँ सजाऊँ है संसार’ आदि जुनै पनि गीत निकै चले । कुसुमका धेरै गीतमा भारतीय चर्चित गायिका आशा भोस्लेले पनि स्वर भरेकी छिन् । उनका शब्दमा रञ्जितको संगीत र गायक-गायिकाको स्वर मिलेपछि श्रोता लठ्ठै पर्थे । अहिले पनि उस्तै लाग्छन्, ती गीत । हो, उनै गीतकार कुसुमको बिहीबार ७२ वर्षको उमेरमा मुम्बईमा निधन भयो । कलेजोसम्बन्धी समस्याले ग्रसित उनको उपचारकै क्रममा ज्यान गएको हो । आफ्ना फिल्मका धेरैजसो गीत कुसुमबाटै लिएका निर्देशक शम्भु प्रधानले उनीसँगको विगतको निकटता स्मरण गरे :
निर्देशक शम्भु प्रधान

‘सम्झना’ बनाउँदा  पहिलोपटक चिनेँ
चलचित्र ‘सम्झना’ बनाउँदा मैले कुसुम भाउजूूलाई नजिकबाट चिन्ने मौका पाएँ । ३४ वर्षअघि अर्थात् ०४० सालतिरको कुरा हो, यो । त्यतिखेर म बम्बई (हालको मुम्बई) बस्थेँ ।

रञ्जित गजमेरलाई दाइ भन्ने भएकाले उहाँलाई भाउजूू सम्बोधन गर्थें । मेरो सम्मान र सम्बोधनमा उहाँलाई कुनै संकोच थिएन । निकै प्रेम गर्नुहुन्थ्यो ।

सम्झना मेरो पहिलो चलचित्र हो । यो चलचत्रिका सबै नै गीत कुसुुम भाउजूले नै लेख्नुभएको हो । यो चलचित्रका लागि उहाँले लेख्नुभएको ‘दुईपाते सुइरो’ निकै हिट भयो । त्यसो त ‘पिरती आफैँ हुँदो रहेछ’ र ‘के सोचेँ मैले के भयो अहिले’ पनि उस्तै चले । उहाँले लेखेका गीत नराम्रो होला कि भन्ने त सोच्नै नपर्ने । श्रोता÷दर्शकको मनै छामेर लेखेजस्तो लाग्ने ।

उहाँकै घरमा अड्डा जमाइन्थ्यो
फिल्ममा सँगै काम गरेको निकटता मात्रै होइन, पारिवारिक निकटता नै बढ्दै गयो । कला क्षेत्रमा लागेका युवालाई निकै प्रोत्साहित गर्ने रञ्जित दाइको स्वभाव छ । भाउजू झन् बढ्दा सकारात्मक हुनुहुन्थ्यो । मलगायत धेरै नेपाली कलाकर्मी रञ्जित दाइको बम्बईस्थित घरमा अड्डा जमाएर बस्थ्यौँ । उहाँकोमा जाने र गीत, संगीतको चर्चा गर्ने काम हुन्थ्यो । उहाँहरू दुवैजना हौसला दिनुहुन्थ्यो । भाउजू त झन् सरल र सहज स्वभावको ।

चिया पिउँदापिउँदै पनि लेख्न सक्ने खुबी
कुसुम भाउजूको क्षमता नै बेग्लै थियो । अहिले सम्झिँदा पनि मलाई अचम्म लाग्छ । उहाँलाई फिल्मको सम्बन्धित विषयवस्तु बताएपछि एकैछिनमा गीत लेखिदिने । गफ गर्दागर्दै, चिया पिउँदापिउँदै पनि गीत लेखिदिनुहुन्थ्यो । कुनै एकान्त चाहिँदैनथ्यो, गीतका शब्द फुराउन । रमाइलोमै गीत लेखिदिन सक्ने क्षमता थियो । उहाँ जस्तोपायो गीत लेख्नुहुँदैनथ्यो । शब्द निकै ‘क्याची’ उतार्न सक्नुहुन्थ्यो । त्यसो त उहाँका हरेक गीत सुन्दा सबैले महसुस गरेकै कुरा हो नि !

मन परेन भने सच्याइहाल्ने बानी
मैले कुसुम भाउजूका गीत धेरै फिल्ममा लिएँ । ‘मायालु’, ‘बेहुली’, ‘सम्पत्ति’, ‘सरस्वती’, ‘सक्कली–नक्कली’, ‘सपना’लगायत सबै गीतमा उहाँकै गीत लिएँ । उहाँको गीतमा रञ्जित दाइले संगीत भरिदिने भएकाले काम गर्न पनि सजिलो हुन्थ्यो । फेरि उहाँहरूसँग काम गर्न निकै सहज । कुसुम दिदीको एउटा बानी अनौठो थियो । एकपटक लखेको गीत मन परेन भने उत्निखेरै सच्याएर परिस्कृत गर्नुहुन्थ्यो । यतिसम्म कि गीत रेकर्ड गर्दागर्दै शब्द मन नपरेजस्तो लाग्यो भने तत्काल रेकर्ड रोकेर गीत सच्याउनुहुन्थ्यो । कसरी हुन्छ राम्रो हुनैप¥यो भन्ने उहाँको धारणा रहन्थ्यो । तर, गीत सच्याएपछि सबैलाई देखाउने पनि गर्नुहुन्थ्यो । मलाई त उहाँले लेखेका गीतप्रति ढुक्क लाग्ने भएर पनि जहिल्यै उहाँकै सहारा लिएँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here